विगतका गल्ती-कमजोरी हटाएर राजनीतिक दिशाहीनता अन्त्य गर्नुपर्छ : यादव


२४ मंसिर २०७८, शुक्रबार
upendra

काठमाडौं, २४ मंसिर । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलहरूले विगतमा गरेका गल्ती-कमजोरी हटाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १४ महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘विगतमा भए, गरेका कमी कमजोरीहरू हटाएर राजनीतिक अस्थिरता, दिशाहीनता र अन्योल अन्त्य गर्नुपर्छ ।’ संवैधानिक अंगहरूलाई क्रियाशील र निष्पक्ष बनाएर मुलुक अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । ‘संवैधानिक निकायहरूलाई अझ सक्षम, निष्पक्ष, क्रियाशील र प्रभावकारी गर्नुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको लागि कांग्रेसको यो महाधिवशेन सार्थक सिद्ध होस्,’ उनले भने ।

यादवले संघीय व्यवस्थालाई सुदृढ गर्नका लागि कांग्रेससहित अरु सबै राजनीतिक दलहरू अगाडि बढ्नुपर्ने बताए । ‘शासकीय पद्धतिलाई व्यवहारमा नै समावेशी र संघीय लोकतन्त्रात्मक बनाएर मात्रै राज्यका सबै निकायहरूलाई जनताको सेवामा समर्पित हुने संस्कृति हुर्काउन सकिन्छ । नेपाली जनतामा व्यप्त रहेका असमानता, गरिबी, बेरोजगारी र अशिक्षालाई अन्त्य गर्दै,’ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

राज्यमा सुशासन र आर्थिक विकास गर्नका लागि सबै समुदायलाई राज्यका मूल धारमा ल्याउनुपर्ने यादवको भनाइ थियो । उनले संविधान संशोधन र परिमार्जन हुनुपर्ने, निर्वाचन र शासकीय प्रणालीमा सुधार गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७