प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

‘हामीले मान्यता नदिएकाहरूलाई बोलाए त हामी कसरी उपस्थित हुने ?’


३ पुष २०७८, शनिबार
sarbadaliya baithak saun 13 KCvNV4TfwL

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले नजाने भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई बोलाएकाले आफूहरू सहभागी नहुने एमालेका नेताहरूले जानकारी दिएका छन् ।

संघीय संसद्मा जारी अवरोध र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् ।

एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा सहभागी नहुने बताए । ‘सर्वदलीय बैठकमा को-को उपस्थित हुन्छन् भन्ने कुराले हामी उपस्थित हुने र नहुने भन्ने भर पर्छ,’ पोखरेलले भने, ‘हामीले मान्यता नदिएकाहरूलाई बोलाए त हामी कसरी उपस्थित हुने ?’

संसद् अवरोध र एमसीसीबारे सरकारको नेतृत्व गरिरहेको दल कांग्रेससँग छलफल हुनसक्ने पोखरेलले बताए । उनले भने, ‘संसद्को अवरोध र एमसीसीबारे कांग्रेससँग छलफल हुन सक्छ तर हामीले मान्यता नदिएका दलसँग छलफल हुन्न ।’ संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने भनिएका सबै दललाई बोलाए एमाले सहभागी नहुने बताएका छन् ।

प्रतिनिधिसभाको आगामी बैठक पुस ६ गते मंगलबारका लागि आह्वान गरिएको छ । उक्त दिनको बैठकमा एमसीसी सम्झौतालाई अगाडि बढाउने सरकारको तयारी रहेको छ । अर्कोतिर एमालेले संसद्मा अवरोध जारी राखेको छ । आफूबाट विभाजित भएर नेकपा (एस) गठन गरेका माधवकुमार नेपाललगायत १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै एमालेले विरोध गरिरहेको हो । उनीहरूलाई सांसद पदबाट मुक्त गर्नुपर्ने एमालेको माग छ । नेकपा (एस) भने देउवा नेतृत्वको सत्तारुढ गठबन्धनमा सहभागी छ । एमाले प्रधानमन्त्री देउवाले बोलाएका यसअघिका सर्वदलीय बैठकमा पनि सहभागी भएको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७