नागरिकता नहुनेलाई पनि मतदान गर्न दिनुपर्छ : उपेन्द्र यादव


४ पुष २०७८, आईतवार
Upendra Yadav

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता प्रमाणपत्र नहुनेलाई पनि मतदान गर्न दिइनु पर्ने बताएका छन् ।
आइतबार फेसबुकमार्फत उनले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक र अन्तर्राष्ट्रिय कानून विपरीत हुने बताएका छन् । लाखौं जन्मसिद्ध नागरिकलाई राज्यले अझैसम्म नागरिकता दिन नसकेको र मधेसमा पनि लाखौं नागरिकले नागरिकता प्रमाणपत्र पाउन नसकेको यादवले बताएका छन् ।

‘यस्तो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु, मतदान गर्न पाउने अधिकारबाट वञ्चित गर्नु, निर्वाचनको प्रक्रियामा सामेल हुनबाट रोक्ने कार्य असंवैधानिक हुनुका साथै अन्तर्राष्ट्रिय कानूनका विपरीत र मानवताविरोधी कार्य हुन्’ उनले भनेका छन्, ‘निरङ्कुश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो ब्यवस्था थिएन ।’

हाल नेपालमा नागरिकता प्रमाणपत्र लिएका १८ वर्षमाथिका व्यक्तिको नाम मात्र निर्वाचन आयोगले मतदाता नामावलीमा समावेश गर्ने गरेको छ । मतदाता नामावलीमा नाम भएकाहरुले मात्र निर्वाचनमा मतदान गर्न पाउँछन् । नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन नसक्ने यादवले बताए ।

‘नागरिकताको प्रमाणपत्र दिनुपर्ने दायित्व राज्यको हो, राज्यले आफ्नो जिम्मेवारी पूरा नगरेको तर त्यसको सजाय जनताले भोग्नुपर्ने यो कस्तो न्याय हो ? तसर्थ सबै नेपाली नागरिकहरूको नाम मतदाता नामावलीमा सामेल गर्नुपर्दछ’ उनले भनेका छन् । जसपा अध्यक्ष यादवले निर्वाचन आयोग र सरकारले नागरिकता नभएकालाई पनि मतदाता नामावलीमा समावेश गर्ने विषयमा बेलैमा ध्यान दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७