ओलीले सुरु गरे चुनावी तयारी


७ पुष २०७८, बुधबार
oli2021 12 22 06 14 36

काठमाडौं । विभिन्न तहका अधिवेशन र राष्ट्रिय महाधिवेशनमार्फत सबै कमिटीमा नेतृत्व चयन र २५-२६ मंसिरको केन्द्रीय कमिटीमार्फत नेताहरूको कार्यविभाजन सकेर एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियान सुरु गरेका छन् । सकेसम्म मुलुकलाई ‘अर्ली इलेक्सन’ तिर लैजान चाहेका ओलीले तीनमहिने पार्टी प्रवेश कार्यक्रममार्फत चुनावी प्रचार र अभियान सुरु गरेका हुन् ।

दोस्रो केन्द्रीय कमिटी बैठकले पुस पहिलो हप्ताबाट राजनीतिक जागरणका रूपमा पार्टी प्रवेश अभियान चलाउने गरी कार्ययोजना बनाउन जिल्ला र प्रदेशलाई निर्देशन दिएको थियो । यसको एक साताभित्रै एमाले अध्यक्ष ओली आफै काठमाडौं बाहिर कपिलवस्तु पुगेर पार्टी प्रवेश कार्यक्रम अभियानकै रूपमा अगाडि बढाएका छन् । दशौँ महाधिवेशन सकिएको एक महिनाकै बीचमा संसद्को ठूलो दल एमालेले आगामी निर्वाचनलक्षित कार्यक्रम सुरु गरेको हो ।

ओलीले कपिलवस्तुको बहादुरगन्जमा बृहत् जनसभा राखेर जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित सयौंलाई एमाले प्रवेश गराएका छन् । कार्यक्रममा महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मा, लुम्बिनीका प्रभावशाली नेता खिमलाल भट्टराईसहित सहभागी थिए । पार्टी प्रवेशअघि एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेताहरूसँग गुप्ताले बालकोटमै पुगेर भेट गरेका थिए ।

एमाले प्रवेशी गुप्ताले सम्बोधनका क्रममा आफूसहित त्यस क्षेत्रका कांग्रेस, समाजवादी, माओवादीसहित विभिन्न पार्टीका सहित करिब आठ हजार नेता-कार्यकर्ता प्रवेश गरेको दाबी गरेका छन् । ०७४ को संघीय चुनावमा गुप्ताले कपिलवस्तु- ३ बाट १६ हजार मत प्राप्त गरेर दोस्रो स्थान प्राप्त गरेका थिए । कांग्रेसबाट अभिषेकप्रताप साहले २० हजार मत पाएर विजय प्राप्त गरेका थिए ।

लामो समय कपिलवस्तुमा राजनीति गरेका ०४८ र ०५६ मा कांग्रेसबाट उम्मेदवार भएका उनी ०७० मा तमलोपा र ०७४ मा जसपाबाट लडेका थिए । तर, सबै चुनावमा उनी पराजित हुँदै आएका थिए । त्यसैले अबको चुनावमा टिकट दिने गरी नै उनलाई एमालेमा प्रवेश गराइएको नेताहरूको भनाइ छ । गुप्ताको प्रवेशसँगै एमालेले कपिलवस्तुमा आफू बलियो भएको आन्तरिक मूल्यांकन गरेको छ ।

माधवकुमार नेपालको नेतृत्वमा एउटा समूहले पार्टी विभाजन गरेपछि पुगेको सांगठनिक क्षतिलाई पूर्वमाओवादी समूहका रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साहसहितका नेता-कार्यकर्ताबाट पूर्ति गर्ने र बाँकी पार्टी प्रवेश अभियान चलाएर बलियो शक्तिका रूपमा स्थापित हुँदै चुनावमा जाने एमालेको तयारी छ ।

त्यही कारण उसले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकबाट पुसको पहिलो हप्ताभित्रै पार्टी प्रवेश अभियान चलाउने गरी कार्ययोजना बनाउने निणर्य गरेको थियो । पूर्वमाओवादी समूहलाई धेरै महत्व दिँदै एमालेले दशौँ महाधिवेशनमा उपाध्यक्षसहित तीन पदाधिकारी र ३५ जना नेतालाई केन्द्रीय कमिटीमा ल्याएको थियो । यद्यपि, एमालेले चुनावका लागि अन्य दलका असन्तुष्टहरूलाई प्रवेश गराउने रणनीति बनाएको छ ।

‘नयाँ जिम्मेवारी प्राप्त गर्ने इन्चार्ज र सहइन्चार्जको उपस्थितिमा पुसको पहिलो साता प्रदेश तथा जिल्ला कमिटीको बैठक आयोजना गरी महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियानको कार्ययोजना तयार गर्ने । दशौँ राष्ट्रिय महाधिवेशनको सामान्य समीक्षा प्रतिवेदन र महाधिवेशनका दस्ताबेजहरूका आधारमा महाधिवेशनको सन्देश मातहत कमिटी र आम जनसमुदायबीच सम्प्रेषण गर्ने,’ एमालेको निणर्यमा छ ।

त्यही कार्ययोजनाअनुसार एमालेले कपिलवस्तुलगत्तै प्रदेश २ पनि बृहत् पार्टी प्रवेश अभियान कार्यक्रम गर्दै छ । कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली कपिलवस्तुबाट ८ पुसमा पर्साको वीरगन्ज पुग्दै छन् । त्यहाँ उनले माओवादी केन्द्रबाट निर्वाचित जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँसहित पूर्व माओवादी समूहको ठूलो पंक्तिलाई एमाले प्रवेश गराउँदै छन् । त्यस्तै, २३ पुसमा जिल्ला र ८ माघमा प्रदेश अधिवेशन सकेर निर्वाचनलाई केन्द्रित गरेर दुई महिना प्रवेश अभियान अझ तीव्र बनाउने एमालेको योजना छ ।

एमालेले पार्टीहरूसँगको एकताभन्दा असन्तुष्ट रहेका व्यक्ति र समूहहरूलाई पार्टी प्रवेश गराउने नीतिलाई प्राथमिकतामा राखेको छ । कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मात्रै होइन, मधेसकेन्द्रित दल तथा साना वामपन्थी पार्टीहरूबाट पनि असन्तुष्टलाई पार्टी प्रवेश गराउने एमालेले तयारी गरेको छ । महासचिव शंकर पोखरेलले सबै पार्टीमा रहेकालाई एमालेमा सामेल गराउने गरी राजनीतिक जागरणका रूपमा अभियान अगाडि बढाइएको बताए ।

गत ९ मंसिरमा चिवतनको नारायणीमा दशौँ महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले माओवादी जनयुद्ध लडेका दशौँ हजार पूर्वलडाकु एमाले प्रवेश गर्ने दाबी गरेका थिए । तर, उनले भनेझैँ अहिलेसम्म लडाकु भने संगठित रूपपा एमाले प्रवेश गरिसकेका छैनन् । ‘एमालेको महाधिवेशनपछि हजारौँ पूर्वलडाकु एमालेमा प्रवेश गर्दै छन् । लडाकुको व्यवस्थापनका लागि एमाले तयार छ,’ ओलीले भनेका थिए । पूर्व लडाकुको सेन्टिमेन्ट जित्ने कोशिस गर्दै ओलीले प्रचण्डले उनीहरूको समस्या समाधान गर्न नसकेको जिकिर गरेका थिए ।

एमालेले यसअघि असोज दोस्रो साता विधान महाधिवेशनमा लोकतान्त्रिक समाजवादीका केन्द्रीय नेता तथा आदिवासी-जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी तथा विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य अमर धमलासहितलाई पार्टी प्रवेश गराएको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७