रानीपोखरीको स्वामित्व काठमाडौं महानगरलाई हस्तान्तरण


९ पुष २०७८, शुक्रबार
269007196 1051956302319126 5722168251056484012 n TLrcuoVQ0k

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको स्वामित्व काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको छ । रानीपोखरीको पहिलो चरणको पुनर्निर्माणको काम सम्पन्न भएसँगै बिहीबार रानीपोखरी परिसरमा एक कार्यक्रम गरी प्राधिकरणले रानीपोखरीको स्वामित्व काठमाडौं महागरपालिकालाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरी पुनर्निर्माणमा विभिन्न कारणले ढिलाई भएको बताएका छन् । शाक्यले पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणले लिएपछि महानगरपालिकाको डिजाइन अनुसार नै पोखरी पुनर्निर्माण भएको जानकारी दिए ।

उनले रानीपोखरीको बीचमा रहेको मन्दिर गुम्बज शैलीमा बनाउने भनिए पनि त्यसको ऐतिहासिक र पुरातात्विक महत्वलाई ध्यानमा राखेर इतिहासको खोजी गरी महानगरपालिकाकै प्रयासमा ग्रन्थकुट (खिशर) शैलीमै पुनर्निर्माण गरिएको स्पष्ट पारे । ‘गुम्बज शैलीलाई शिखर शैलीमा बनाउनुपर्छ भनेर निणर्य गर्ने काठमाडौँ महानगरपालिका हो,’ उनले भने, ‘हामीले एउटा पुरानो तस्बिर फेला पारेपछि शिखर शैलीमै पुनर्निर्माण गर्ने निणर्य गरेका थियौं । लामो समय त्यो विषय विवादमा रह्यो । सबैको सल्लाह-सुझावअनुसार अन्तिममा त्यही शैली र स्वरुपमा रानीपोखरी पुननिर्माण गर्न सफल भएका छौं ।’

शाक्यले करीब ३ सय ६० वर्षअघिको सम्पदाको मौलिकता जोगाउँदै रानीपोखरी पुनर्निर्माण गरिएको दाबी गरे । कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले रानीपोखरी पुनर्निमाणको काम प्राधिकरणले गरे पनि काठमाडौँ महानगरपालिकाकै सल्लाह अनुसार काम भएको जानकारी दिए ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठले प्राधिकरणले रानीपोखरी पुनर्निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्दा खुशी लागेको बताइन् । पुनर्निर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालले रानीपोखरी पुनर्निर्माणका लागि उपभोक्ता समितिमार्फत ८ करोड १५ लाख र सौदर्यीकरण, बालगोपालेश्वर मन्दिर, पुल लगायतका संरचना निर्माणको काममा थप १७ करोड ४५ लाख गरी करीब २६ करोड खर्च भएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७