काँग्रेस महाधिवेशन : चितवनबाट पहिलो पटक केन्द्रीय सदस्यमा पाँच जना निर्वाचित


९ पुष २०७८, शुक्रबार

चितवन । नेपाली काँग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । काँग्रेसको १४ औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यसअघि पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य हुनुभएको भए पनि निर्वाचित सदस्य अहिलेसम्म कोही हुन सकेका थिएनन् ।

चौधौँ महाधिवेशनबाट काँग्रेसका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ, प्रतिनिधिसभा सदस्य उमेश श्रेष्ठ, तत्कालिन संविधानसभा सदस्य अञ्जनी श्रेष्ठ, नेता दिनेश कोइराला र शान्ति परियार विक निर्वाचित भएका छन् । महाधिवेशनमा जिल्लाबाट १३ जनाले केन्द्रमा उम्मेदवारी दिएका थिए ।

काँग्रेसको राजनीतिमा पाँच पटकसम्म चितवनको सभापति भएर काम गर्नुभएका गुरुङ आदिवासी जनजाति कोटाबाट केन्द्रीय नेतृत्वमा पुग्न सफल भएका हुन् । विसं २०१८ देखि काँग्रेसको राजनीतिमा सक्रिय गुरुङले २०७० सालको निर्वाचनमा तत्कालीन पार्टी सभापति सुशील कोइरालालाई चितवनबाट जिताउन टिकट समेत त्यागेर सहयोग गरेका थिए ।

यस्तै व्यापारिक पृष्ठभूमिबाट काँग्रेसको राजनीतिमा आएका श्रेष्ठ हाल प्रधानमन्त्री कार्यालयका बहालवाला राज्यमन्त्री हुन् । केही समय स्वास्थ्य राज्यमन्त्री बनेका श्रेष्ठ शिक्षा, स्वास्थ्य, जलविद्युत् र पर्यटन व्यवसायसँगै बैंकिङ क्षेत्रका ठूला लगानीकर्ता हुन् । श्रेष्ठ पनि चितवनबाटै प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय जिम्मेवारीमा पुग्न सफल भएका हुन् ।

पार्टीको १३ औँ महाधिवेशनमा पनि महासमिति सदस्य भएका श्रेष्ठ चितवन क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । तत्कालिन संविधानसभा सदस्यको जिम्मेवारीसमेत निर्वाह गरीसकेका श्रेष्ठ अहिले प्रतिनिधिसभा सदस्य रहेका छन् । नेपाल विद्यार्थी सङ्घबाट काँग्रेसको राजनीतिमा सक्रिय नेत्री अञ्जनी श्रेष्ठ पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । आदिवासी जनजाति कोटाबाटै केन्द्रीय समितिमा प्रवेश गरेकी श्रेष्ठ तत्कालिन संविधानसभा निर्वाचनपछि समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेकी थिइन् । काँग्रेस चितवनको जिल्ला कार्यसमितिमा रहेर काम गरेकी उनले पद्मकन्या क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनकी सभापतिसमेत भएर काम गरेकी थिइन् ।

विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेता दिनेश कोइराला भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार रहेका थिए । नेकपा (माओवादी केन्द्र)सँग तालमेल हुने भएपछि उनले उम्मेदवारी छोडेका थिए । स्थानीय तह निर्वाचनमा टिकट फिर्ता लिएपछि उनी त्यसपछिको निर्वाचनमा चितवन-३ (क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बने । कोइरालाले नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी सन् २००८ मा जेसीजको राष्ट्रिय अध्यक्ष भएका थिए ।

यस्तै विद्यार्थी राजनीतिबाटै मूलधारको राजनीतिमा सक्रिय परियार दलित सङ्घ चितवनकी अध्यक्ष हुन् । दलित समुदायको मुद्दालाई अघि बढाउँदै आएकी उनी पहिलोपटक केन्द्रीय समितिमा पुग्न सफल भएकी छन् । निर्वाचित तीन जना संस्थापन समूह र दुई जना संस्थापन इतर समूहबाट निर्वाचित भएका हुन् । काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ भने झिनो मतान्तरले पराजित भए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७