माओवादी महाधिवेशन : बन्द सत्र शुरु, प्रचण्डले प्रतिवेदन पेश गर्ने

प्रज्ञा भवन प्रवेशका लागि प्रतिनिधिलाई कार्ड अनिवार्य


१२ पुष २०७८, सोमबार
banda satra

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत बन्द सत्र शुरु भएको छ । बन्द सत्र कमलादीस्थित प्रज्ञा भवनमा भर्खरै शुरु भएको माओवादी केन्द्रले जानकारी दिएको छ । बन्द सत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

राजनीतिक प्रतिवेदनमाथि सामुहिक छलफल हुने जनाइएको छ । बन्द सत्रमा कूल १,६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । राष्ट्रिय सम्मेलनको तयारी पूरा गरिसकेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गर्ने स्थायी समितिले निणर्य गरेको थियो । त्यसलाई आइतबार बिहान केन्द्रीय समितिको बैठकले औपचारिकता दिएको थियो । यस्ते माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्दै १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निणर्य गरेको थियो ।

प्रज्ञा भवन प्रवेशका लागि प्रतिनिधिलाई कार्ड अनिवार्य

नेकपा माओवादीको आठौं महाधिवेशनका लागि प्रज्ञा भवन कमलादीमा अहिले प्रतिनिधिहरू प्रवेश गर्ने क्रम जारी छ । प्रज्ञा भवनभित्र प्रवेश गर्ने प्रतिनिधिहरूलाई महाधिवेशनको कार्ड अनिवार्य गरिएको छ । मुख्य प्रवेशद्वारमा खटिएका स्वयंसेवकहरूले आगन्तुकको कार्ड हेरेर मात्रै प्रवेश गर्न दिएका छन् ।

maoist pratinidhi cdard 6

माओवादी अध्यक्ष प्रचण्डको सुरक्षा टोलीका प्रमुख प्रलोक पाण्डे आफैं सन्चारसेट बोकेर प्रज्ञा भवनको गेटमा खटिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको टोली फिर्ता गरेपछि वाईसीएलले पाण्डे नेतृत्वको टोली खटाएको थियो ।

महाधिवेशनको व्यवस्थापनमा खटिएका वाईसीएल सहसंयोजक सुवोध शेर्पालीले प्रतिनिधिहरूलाई सहज रुपमा प्रवेशको व्यवस्था मिलाउन स्वयंसेवक टोलीले सहयोग गरिरहेको बताए । प्रज्ञा भवनको गेट बाहिर केन्द्रीय कार्यालय पेरिसडाँडाको एक टोली पनि छ । सो टोलीले प्रतिनिधिहरूलाई कार्डको व्यवस्था मिलाएको छ । शुरुमा प्रतिनिधिहरूलाई बाँडिएको ‘राष्ट्रिय सम्मेलन’ लेखिएको कार्ड फिर्ता लिने र ‘राष्ट्रिय महाधिवेशन’ लेखिएको कार्ड वितरण गर्ने काम केन्द्रीय कार्यालयको टोलीले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७