प्रहरी भ्यानको ठक्करबाट युवकको मृत्यु प्रकरण : पीडित परिवारलाई १० लाख क्षतिपूर्ति


१६ पुष २०७८, शुक्रबार
Barta

सर्लाही । सर्लाहीको ईश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट ज्यान गुमाउने युवाका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ ।

गएको सोमबार राति प्रहरीको भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार ईश्वरपुर ५ का ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । घटनाको विरोधमा स्थानीयबासीले प्रहरी कार्यालयमा ढुंगामुडा गर्न थालेपछि दुई दिनदेखि ईश्वरपुर नगरपालिका अन्तर्गतको बयलबास बजार क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा शुक्रबार बिहान ७ बजेसम्म लागू हुने स्थानीय प्रशासनले जनाएको छ ।

बिहीबार लालबन्दीमा भएको छलफलमा मृतकका आश्रित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति स्थानीय प्रशासनले गरेको छ । १० लाख क्षतिपूर्ति दिनेसहित ६ बुँदे सहमति भए पनि पीडित पक्षले अझै शव बुझेका छैनन् । युवकको शव जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

घटनाको छानविन गर्न समिति गठन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले जानकारी दिए । प्रदेश-२ प्रहरी कार्यालय दङ्गा नियन्त्रण गणका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिमा प्रदेश-२ ट्राफिक प्रहरी कार्यालय पथलैया प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवार, प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गोविन्दलाल कणर्, प्रहरी नायब निरीक्षक प्रेमकुमार साह र सङ्घीय प्रहरी इकाइ कार्यालय धनुषाका प्रहरी हवलदार प्रमोदकुमार साह सदस्य छन् । समितिलाई स्थलगत विवरण एक हप्ताभित्र सार्वजनिक गर्ने कार्यादेश दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७