धनन्जय रेग्मीप्रति मन्त्री आलेको आक्रोश : त्यस्ता जँड्याहाबाट पर्यटन बोर्ड चल्छ ?


१६ पुष २०७८, शुक्रबार
prem aale
फाइल फोटो

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका निलम्बित सीइओ धनञ्जय रेग्मीप्रति आक्रोश पोखेका छन् । शुक्रबार भएको नेपाल पर्यटन बोर्डको स्थापना दिवससम्बन्धी कार्यक्रममा मन्त्री आलेले विमानस्थलमा भन्सार कर्मचारीलाई कुटपिट गरेपछि निलम्बित सीईओ रेग्मीबाट अब संस्था नचल्ने पनि बताएका छन् ।

उनले रेग्मीलाई जँड्याहाको संज्ञा पनि दिएका छन् । बेलायतको लण्डनमा आयोजित विश्व पर्यटन मेलाका नाममा आफूलाई लगेर रेग्मीले अपमान गरेको पनि बताएका छन् । ‘लण्डनमा आयोजित विश्व पर्यटन मेलामा १६ देशका मन्त्री थिए । नेपालबाट मेरै नेतृत्वमा गयौं । तर, सीईओको जाँड खाने र रमाइलो गर्ने मात्रै रहेछ’, उनले भने, ‘त्यो फोरममा मैले बोल्न समेत पाइनँ । त्यसले न नेपालकै बेइज्जत भयो ।’

उनले त्यो फोरममा बोल्न नपाउँदा आफूलाई तनाव भएको पनि बताए । ‘म त्यसको तनावले रिसाएँ । यस्तो साँढेलाई सीईओ बनायो भने संस्था चल्छ ?’, उनले भने, ’तपाईंहरूका मागबारे छलफलमा हुँदा पनि बोर्ड सदस्यले यस्तो नगरौँ संस्था डुब्छ भन्दा आज तपाईं रिसाउनुभयो जाऊँ हिँड्नु रक्सी खान भन्ने उनको चलन रहेछ ।’

उनले लण्डनको मेलामा सबैभन्दा सानो स्टल नेपालकै भएको बताउँदै तर खर्च भने ८० लाख भएको सुनेको उल्लेख गरे । ‘लण्डन जाँदा बोर्डको ८० लाख खर्च भयो भनेर बिल पेस भएछ । त्यहाँ खानाको पैसा पनि गोजीबा हालेको छु’, उनले भने, ’दूतावासमा बसेका थियौँ। होटल र खानामा एक रूपैयाँ खर्च भएको छैन । अनि बिल चाहिँ ८० लाख आयो रे! कसरी आयो? मेरो टिकट मन्त्रालयले तिर्‍यो । छानविन हुनुपर्छ । छानबिन गरेर कानुनी दायरमा ल्याऊँ । त्यस्तो धन्दा अब चल्ने छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७