राष्ट्रिय सभा निर्वाचनमा बाँकेबाट कांग्रेसका चार सिफारिस


१७ पुष २०७८, शनिबार
1620478210 Nepali Congress flag 1200x560 1

बाँके । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले बाँकेबाट चार जनाको नाम सिफारिस गरेको छ । उक्त निर्वाचनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले बाँकेसँग नाम मागेको थियो ।

कांग्रेस बाँकेको पदाधिकारी बैठकले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन पार्टीका पूर्व जिल्ला सभापति युवराज शर्मा, वर्तमान सभापति किरण कोइराला, संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी ‘भोला’ र महाधिवेशन प्रतिनिधि लुटबहादुर खत्रीको नाम सिफारिस गरेको कार्यालय सचिव उमेश शर्माले जानकारी दिए ।

केसीलाई नेपाली कांग्रेसले यसअघि पनि २०७४ सालको राष्ट्रिय सभा निर्वाचनमा उम्मेवार बनाएको थियो। अपांगताबाट उम्मेदवार बनेका उनी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गठबन्धनसँग पराजित भएका थिए । निणर्य पश्चात चारै जनाको नाम कांग्रेस लुम्बिनी प्रदेश समितिमा सिफारिस गरेर पठाइसकिएको उनले बताए ।

उक्त निर्वाचनका लागि बाँकेबाट पुरुष र महिला एक एक जनाको नाम मागेपनि जिल्लामा आकांक्षीको संख्या बढेपछि चारै जनाको नाम पठाइएको शर्माले प्रष्ट्याए । ‘चार जनाको नाम वरियता क्रम अनुसार सिफारिस गरेर पठाइसकेका छौं, अब प्रदेश समिति हुँदै केन्द्रले निणर्य गर्ने होला,’ कार्यालय सचिव शर्माले भने ।

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ । यसका लागि निर्वाचन आयोगले दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार निर्वाचन कार्यक्रम अन्तरगत शनिबार प्रथम मतदाता नामावली प्रकाशन हुँदैछ ।

यस्तै सोमबार अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । यसैगरी पुस २० गते मंगलबार उम्मेदवार मनोनयन दर्ता हुनेछ । निर्वाचनका लागि लुम्बिनी प्रदेशका २ सय ९६ मतदाता रहेका छन् । लुम्बिनी प्रदेशका सांसद र स्थानीय तहका प्रमुख तथा उप-प्रमुखले भोट हाल्न पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७