अध्यक्ष प्रचण्डले घोषणा गरे २३६ सदस्यीय केन्द्रीय कमिटी

प्रचण्ड भन्छन्, ‘पार्टीलाई समानुपातिक, समावेशी बनाउने चुनौती छ’


१८ पुष २०७८, आईतवार
prachanda

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २३६ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेका छन् । प्रज्ञा भवन कमलादीमा जारी आठौं महाधिवेशन अन्तर्गत आइतवार बसेको स्थायी कमिटी बैठकपछि बन्द सत्र हललाई सम्बोधन गर्दै उनले सुरुमा २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

सहमतिमै केन्द्रीय कमिटी घोषणाको पक्षमा रहेका उनले बन्द सत्र हलमा सम्बोधनका क्रममा सुरुमा केन्द्रीय कमिटी सदस्यको नाम घोषणा गरेपछि पदाधिकारीको टुङ्ग्याउने बताएका थिए । यसअघि माओवादी केन्द्रले २३६ सदस्यीय केन्द्रीय कमिटी बनाउने निणर्य लिएको थियो । बाँकी ७० जनाबारे माओवादीले अहिलेसम्म केही भनेको छैन ।

प्रज्ञा भवन कमलादी जारी महाधिवेशनको नेतृत्व चयन प्रक्रियालाई अघि बढाउँदै माओवादीले आइतवार केन्द्रीय समिति सदस्यहरुको नाम घोषणा गरेको हो । माओवादी केन्द्रले आफ्ना १५ पदाधिकारीहरूको नाममा भने अझै सहमति जुटाउन सकेको छैन ।

प्रचण्ड भन्छन्, ‘पार्टीलाई समानुपातिक, समावेशी बनाउने चुनौती छ’
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई समानुपातिक, समावेशी बनाउने चुनौती रहेको बताएका छन् । आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवनमा जारी बन्दसत्रमा सम्बोधन गर्दै प्रचण्डले उक्त धारणा राखेका हुन् ।

समानुपातिक, समावेशीको विषयमा पार्टीभित्र असन्तुष्टि आएको उल्लेख गर्दै प्रचण्डले पहिलो पटक नयाँ प्रकृतिको निर्वाचन गर्नुपर्ने बाध्यतामा रहेको बताए । ’हामी स्थायी कमिटी बैठकबाट आएका छौं । असन्तुष्टिका कुरा पनि आएका छन् । हामीले गर्न लागेको समावेशी समानुपातिकको व्यवस्था नयाँ हो । पहिलोपटक नयाँ प्रकृतिको निर्वाचन गर्नुपर्ने हामीलाई बाध्यता छ । यो संविधानको व्यवस्था अनुसार गरेका हौं । यसमा गर्व गर्नुपर्छ ।’ प्रचण्डले दलित नेताहरूले उठाएका माग पूरा हुने पनि बताएका छन् । उनले भने, ‘दलित वा अन्य समुदायको प्रतिनिधित्व घट्दैन, बढ्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७