अन्तिम पटक नेतृत्व गर्नुपर्ने बाध्यता आयो : प्रचण्ड


२० पुष २०७८, मंगलवार
parchanda

काठमाडौं । माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड पुनः सर्वसम्मत चयन भएका छन् । आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई पुनः चयन गरेको हो । चुनावपछि गर्ने भनिएको विशेष महाधिवेशनमा नेतृत्व परिवर्तन नभए प्रचण्डको कार्यकाल पाँच वर्ष हुनेछ ।

माओवादी केन्द्रको बैठकले नेता नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा अध्यक्ष चयन गरेको हो । आठ दिनसम्म राजधानीको प्रज्ञा प्रतिष्ठानमा चलेको महाधिवेशनले अपूरो केन्द्रीय कमिटीबाहेक पदाधिकारी चयन गर्न सकेको थिएन । त्यही अपूरो केन्द्रीय कमिटीबाट प्रचण्ड अध्यक्षमा निर्वाचित भएका हुन् ।

विधानमा दुई सय ९९ जना केन्द्रीय समितिको व्यवस्था भए पनि प्रचण्डले दुई सय ३७ जनाको अपूरो केन्द्रीय कमिटी हलमा प्रस्तुत भएको थियो । आइतबार महाधिवेशनको बन्दसत्र हलमा नै केन्द्रीय समिति प्रस्ताव गर्दै प्रचण्डले पहिलो बैठकबाट पदाधिकारी चयन गर्ने बताएका थिए । माओवादीको विधानले महाधिवेशनले केन्द्रीय कमिटी र केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने व्यवस्था गरेको छ ।

सोहीअनुसार सोमबार बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई चयन गरेको हो । बाँकी पदाधिकारीको विषयमा छलफल गर्न २५ पुसमा अर्को केन्द्रीय कमिटी बैठक बोलाएको छ । प्रचण्डले त्यही बैठकबाट पदाधिकारी चयन हुने बताए ।

बैठकपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले स्वास्थ्योपचारका लागि हाल चीनमा रहेका नेताहरू वर्षमान पुन र ओनसरी घर्ती मंगलबार नेपाल आउने र त्यसपछि उनीहरूसँग पनि छलफल गरेर पदाधिकारी टुंग्याउने बताए । ‘उहाँहरूलाई पनि सामेल गर्नु भावनात्मक, संवेदना, विचार हरेक दृष्टिबाट उचित हुने भएको हुनाले पदाधिकारी चयन नगरेका हौँ,’ उनले भने, ‘अर्को बैठकबाट हुन्छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७