मुगुमा दोस्रोपल्ट भारी हिमपात, यातायात अवरुद्ध


२२ पुष २०७८, बिहीबार
mugu himpat photo 2 1 0612022060657 1000x0 1

मुगु । मुगुमा दोस्रोपटक भारी हिमपात भएको छ । एक साताअघि परेको हिउँ बिलाउन नपाउँदै पुनः बुधबार रातिबाट ताल्चा, रारा, मुर्मा, तलितुम, माथितुम, बाम, रोवा, कोटीला, टोप्ला, मुगु, डोल्फू, झयारी, खमाले, मुगु, डोल्फू, सोरुकोट लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ ।
हिमपातले लेकाली बस्ती सेताम्य भएका छन् । पहिले पटकको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएको छायाँनाथ रारा नगरपालिका-९ का देवीसिंह रोकायाले बताए । हिमपातले अत्यधिक चिसो बढेको उनको भनाइ छ ।

लेकाली बस्तीमा हिमपात भएपनि बेसीतिर निरन्तर झरी परेको छ । हिमपात र झरीले किसानलाई सुबिकालको आशा पलाएको छ । पुसमा हिउँ परेपछि अन्नबाली फलफूल जडिबुटीको सुबिकाल हुने किसानहरुको भनाइ छ । हिमपातले लेकाली बस्तीका स्थानीयलाई आउजाउ गर्न वस्तु चराउन र घाँस दाउरा ल्याउन भने मुस्किल भएको छ ।

जिल्लामा भारी हिमपातका कारण यातायात सेवा अवरुद्ध भएको छ । एक साताअघिको हिमपातले गमगढी नाग्मा सडक खुल्न नपाउँदै फेरि हिमपात भएपछि जिल्लामा सडकमार्ग लामो समयसम्म बन्द हुने भएको छ ।

गमगढी नाग्मा सडक खण्ड अन्तर्गत घुच्ची सातमोड डाबलगायतका क्षेत्रमा बाक्लो हिउँ जमेपछि मालबाहक ट्रक, जीप, मोटरसाइकल, बस बीचमै अलपत्र परेका छन् । हिमपातका कारण जिल्लाको एक मात्र हवाई सेवा पनि अवरुद्ध बनेको छ । धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा अवरुद्ध भएको रारा नागरिक हवाइ उडडयन कार्यालयले जनाएको छ । पर्यटकीय गन्तव्य रारा हिउँले सेताम्य भएपछि घुम्न आएका आन्तरिक पर्यटक उत्साहित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७