‘गोप्य सहमतिको एकप्रति मसँग छ, अर्को प्रचण्डसँग’


२४ पुष २०७८, शनिबार
kp 20220108002830

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालीन नेकपामा पुष्पकमल दाहाल प्रचण्डले आफूसँग गोप्य सम्झौता गरेको र त्यसको ‘एक कपी’ आफूसँग सुरक्षित रहेको खुलासा गरेका छन् ।

तत्कालीन पार्टीमा विवाद बढ्दै गएको बेला माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई झुक्याएर प्रचण्डले आफूसँग सम्झौता गरेको ओलीले खुलाएका हुन् । ‘पार्टी विवादबारेको मुद्दा अदालतबाट के हुन्छ, के हुन्छ ?’ भन्ने भएपछि प्रचण्डले मसँग सम्झौता गरेका थिए’, ओलीले भने, ‘त्यो सम्झौताको उनले पनि चर्चा गरेका छैनन्, मैले पनि अहिलेसम्म गर्‍या छैन । तर, अहिले म भन्छु, उनले मसँग सम्झौता गरेका थिए ।’ सम्झौताको एक/एकप्रति आफू र प्रचण्डसँग रहेको ओलीले बताए। ‘त्यसको एकप्रति प्रचण्डसँग छ, एकप्रति कागज मसँग छ’, ओलीले भने ।

सम्झौताको विषय र उद्देश्य भने प्रचण्डले नै सार्वजनिक गर्नुपर्ने ओलीले बताए । प्रचण्डले सार्वजनिक नगरे सम्झौता गर्दाका साक्षी ‘गोप्य’ व्यक्तिले सम्झौता सार्वजनिक गर्न सक्ने ओलीले बताए । पाँचदलीय गठबन्धनले ‘नियन्त्रित अस्थिरता’ चाहनेको पोल्टोमा राजनीति हालिदिएको उनले आरोप लगाए। प्रचण्ड, नेपाललाई कम्युनिस्ट आन्दोलनको भविष्य, देश र जनताप्रति कुनै मतलव नभएको ओलीले दाबी गरे ।

‘कम्युनिस्ट आन्दोलन सिध्याउनुपर्छ भनेर उनीहरूका बोसहरूले ह्विप जारी गरेका थिए’, ओलीले भने, ‘बञ्चरो काँधमा बोकेर उनीहरू कम्युनिस्ट पार्टीका टाउकोमा हान्न कुदे ।’ आफूले अघि सारेको ‘समृद्ध नेपाल ः सुखी नेपाली’ केही मान्छेका लागि असह्य भएको उनले बताए । ‘डार्बिन र आइन्स्टाइन पनि नेपाली भएका भए उनीहरूको सिद्धान्त नेपालीले मान्दैनथे’, ओलीले भने । सरकारको ६ महिनाको गतिले देश दुई वर्षपछि धकेलिएको ओलीले दाबी गरे ।

प्रचण्डसँग केही पाउने आशले मात्र केही नेताहरू उनीसँग रहेको ओलीको तर्क थियो । ‘प्रचण्डजीबाट अलिअलि दूध आउञ्जेल केही मान्छेले छोड्दैनन्’, ओलीले भने । प्रचण्ड र नेपालले ‘चोइटा’ लिएर गए पनि एमालेलाई कुनै असर नगर्ने ओलीको दाबी थियो । माधव नेपालले एमाले पूरै ध्वस्त पार्न खोजे पनि नसकेको उनले आरोप लगाए । ‘प्रचण्डले देश आफूले चलाइराख्या छु’ भन्दै हिँडेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘उनको हातमा कसरी शक्ति गयो ?’। ‘यो सबैको निर्माता को हो ? ओलीले प्रतिप्रश्न गरे, ‘यिनीहरूको परमप्रभु/निर्माता (जो अदृष्य छ, आकारविहीन छ) कहाँ छ ? को हो ? कुन शक्ति हो यो ? ‘क्रिएटर’ को हो ? कसले ‘क्रिएसन’ गरिराख्या छ ?’

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग नलगाउने ओलीले तर्क गरे । ‘प्रधानन्यायाधीशमाथि शेरबहादुरले लगाउँछन् महाभियोग ?’ ओलीले प्रतिप्रश्न गर्दै भने, ‘मलाई हटाएर यिनीहरूको सरकार बनाइदिएको छ। अनि यत्रो काम गर्ने अदालतमाथि महाभियोग कसरी लगाउँछन् ?’

अदालतले असंवैधानिक र अवैधानिक रूपमा आफूलाई प्रधानमन्त्रीबाट हटाएको उनले दाबी गरे । सत्ता गठबन्धनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्नेमा उनले आशंका व्यक्त गरे । ठूलो दल एमालेको अवरोधलाई संसद्मा अस्वीकार गरिएको भन्दै ओलीले असन्तुष्टि जनाए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७