सम्भावित तेस्रो लहर रोक्न प्रधानमन्त्रीको निर्देशन


२४ पुष २०७८, शनिबार
deuwa

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको सम्भावित तेस्रो लहरको संक्रमण रोक्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित कोभिड-१९ निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मन्त्री, मुख्यसचिव र सचिवलाई सम्भावित तेस्रो लहरको संक्रमण रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएका हुन् । उनले बुस्टर डोज र भारतसँगका खुला नाकामा होल्डिङ सेन्टर स्थापनालाई प्राथमिकता दिनुपर्ने बताए ।

भारतका पन्जाब, गुजरात, उत्तरप्रदेश, बिहारलगायतका राज्यमा संक्रमणको तेस्रो लहर फैलिसकेको छ । यस्तो अवस्थामा नेपालमा तेस्रो लहर फैलिन नदिनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले संक्रमण फैलिन नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए । उनले सीमामा तेस्रो लहरको संक्रमणको चुनौती रहेकाले सीमा नाकामा कोरोना भाइरसको परीक्षण दर बढाउन पनि निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले भारतसँग सीमा जोडिएका नाकामा होल्डिङ सेन्टर पनि चाँडै स्थापना गर्न निर्देशन दिए । ‘भारत सीमाबाट आएका सबै व्यक्तिलाई परीक्षण गर्नुपर्छ’, उनले भने, ‘परीक्षण गर्दा संक्रमण भेटिए आइसोलेसन र होल्डिङ सेन्टरमा राखेर उपचार गर्नुपर्छ ।’ उनले तेस्रो लहरको ओमिक्रोन भेरिएन्ट छिटो फैलिने भएकाले खतरा रहेको र समयमै रोकथाम तथा नियन्त्रणका लागि आवश्यक काममा लाग्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले बुस्टर डोज लगाएपछि तेस्रो लहरको खतरा कम हुने भएकाले सबैलाई बुस्टर डोज लगाउने गरी व्यवस्थापन गर्न निर्देशन दिए । उनले तेस्रो लहरको सम्भावित जोखिम हुन नदिन अस्पतालमा अक्सिजन र बेड व्यवस्थापन गर्नुपर्ने बताए । नागरिकलाई बचाउनु सरकारको कर्तव्य भएको भन्दै प्रधानमन्त्री देउवाले सबैको सहयोगले सम्भावित तेस्रो लहरलाई नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे । ‘अक्सिजन नै नपाएर मानिस मर्नु हुन्न’, उनले भने, ‘त्यसैले सबै मिलेर कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि युद्धस्तरमा काम गर्नुपर्छ ।’

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सीमा नाकामा चाँडै नै होल्डिङ सेन्टर निर्माण गर्नेतर्फ लाग्नुपर्ने बताए । उनले संक्रमितको पहिचान गरी आइसोलेसनमा राख्नुपर्ने बताए । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विगतको अनुभवलाई लिएर उच्च सतर्कता नअपनाए ठूलो संकट बेहोर्नुपर्ने भन्दै चाँडै नै सम्भावित तेस्रो लहरको रोकथाम र नियन्त्रणको उच्च तयारीमा लाग्नुपर्ने भनाइ राखे । उनले खोप अभियानलाई तीव्रता दिनुपर्ने भन्दै खोप समयमा नै दिन नसके अकल्पनीय दुर्घटना बेहोर्नुपर्नेतर्फ सचेत रहनुपर्ने बताए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोन भेरिएन्टको रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले काम गरिरहेको बताए । उनले ओमिक्रोन भेरिएन्टबाट ठूलै डर सिर्जना हुने नठानेर पहिलेको अनुभवबाट नै नियन्त्रण गर्न सकिने धारणा राखे । उनले अहिले तेस्रो लहरको हल्लासँगै खोप लगाउनेको संख्या पनि बढेको भन्दै खोप लगाउन अभियान नै सञ्चालन गर्ने बताए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७