प्रदेश-२ को नाम र राजधानीका लागि माघ पहिलो साता मतदान


२७ पुष २०७८, मंगलवार
pradesh 2

जनकपुर । प्रदेश-२ को नामाकरण र स्थायी राजधानीका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशसभामा पेस भएका नामकरणसम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदानबाट टुंग्याइने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो । सभामुख यादवको संयोजकत्मा प्रदेशको नाम र स्थायी राजधानीका लागि आएका प्रस्तावमा छलफल गर्न संसदीय समिति गठन गरिएको थियो । सो समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुरधाम र वीरगञ्जका सांसदहरू र संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो ।

छलफलमा कुनै पनि प्रस्तावमाथि सहमति नजुटेको बताइएको छ । प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रदेशसभामा दुई तिहाइ बहुमत चाहिन्छ । जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रस्ताव गरेको मधेस प्रदेशको प्रस्तावमा ६३ जना सांसद छन् ।

मधेश प्रदेश प्रस्ताव पारित गराउन थप ७ जनाले समर्थन जनाए दुई तिहाई बहुमतले पारित गर्न सकिन्छ । अन्य प्रस्तावमध्ये जानकी प्रदेशको पक्षमा नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका २१ जना छन् भने १९ सांसद रहेको काँग्रेस भने मिथिला भोजपुरा प्रदेशको पक्षमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७