बागमती प्रदेश : कोभिड-१९ व्यवस्थापन समिति गठन, स्वास्थ्यका ४७९ कर्मचारीको म्याद थप


२८ पुष २०७८, बुधबार
rajendra pandey

हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ व्यवस्थापन समिति गठन गरेको छ । बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्य-सचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रमा करारमा कार्यरत ४७९ प्राविधिक कर्मचारीको सेवाअवधि ६ महिना थप गरेको छ ।

अघिल्लो वर्ष कोभिड-१९ महामारी चर्किएको बेला ४७९ प्राविधिक कर्मचारी राखिएकामा उनीहरुको म्याद यही पुस मसान्तसम्म मात्र सकिँदै थियो । उनीहरुको करार अवधि थप गर्ने निणर्य भएको मन्त्री खनालले जानकारी दिए ।

बैठकले प्रदेशमा दर्ता भएका एफएम रेडियो तथा टेलिभिजनलाई कोभिड महामारीले पारेको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले नवीकरण शुल्क पूरै मिनाहा गर्ने र दुई प्रतिशत कर लिँदै आएकामा ५० प्रतिशत छुट गरी अब एक प्रतिशत मात्र कर तिरे पुग्ने व्यवस्था गरेको छ । माघ मसान्तसम्म कर बुझाउन सकिने व्यवस्था गरिएको छ ।

यसैगरी चितवनको भरतपुरमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाउने निणर्यसमेत गरिएको छ । सो कार्यालय स्थापना गर्न आवश्यक जग्गा प्राप्तिका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निणर्य भएको मन्त्री खनालले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७