रक्सी खाएर स्थानीयसँग झगडा गरेका मेजर सेवाबाट बर्खास्त


६ माघ २०७८, बिहीबार
Ashok Shahi Major Nepali Army

काठमाडौं : कैलालीमा मादक पदार्थ सेवन गरेर स्थानीयसँग विवाद गरेका नेपाली सेनाका सेनानी (मेजर) अशोक शाही सैनिक सेवाबाट बर्खास्तीमा परेका छन् ।

सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत उनलाई सैनिक आचरणविपरीत काम गरेको ठहर गर्दै सैनिक अदालतले सेवाबाट हटाउने फैसला गरेको हो । गत २१ कात्तिकमा उनले मादकपदार्थ सेवन गरी ब्यारेकबाट निस्किएर स्थानीय युवासँग झगडा गरेका थिए ।

प्रहरीले लम्कीचुहा नगरपालिका–३ गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीलाई हतियारसहित पक्राउ गरेको थियो । रक्सीको नसामा लठ्ठिएका मेजर शाहीले स्थानीयवासीलाई गालीगलौज गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

कैलालीको चिसापानीस्थित होटल संगममा शाही र होटल सञ्चालक तथा त्यहाँ रक्सी खाइरहेका युवाबीच झगडा भएको थियो । उनले सुरुमा ग्राहकसँग झगडा गरेका थिए । त्यसपछि उनी ब्यारेक फर्किएर हतियारसहित पुनः विवाद गर्न गएका थिए ।

होटलबाट निस्केका मेजर शाही शिक्षालय पुगेर एक जना ड्युटीमा रहेका सैनिकलाई लिएर फेरि झण्डै चार किलोमिटर टाढा रहेको चिसापानी बजार पुगेर सर्वसाधारणलाई गालीगलौज गर्दै हिँडेको र केही व्यक्तिलाई हातपातसमेत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७