बाहिर निस्कँदै हुनुहुन्छ ? त्यसो हो भने खोप कार्ड बोक्न नबिर्सिनुस्

आजदेखि खोप कार्ड अनिवार्य,


७ माघ २०७८, शुक्रबार
covid vaccine 2nd dose 1 scaled

काठमाडौं, ७ माघ । आजबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीको निर्णयअनुसार गृह मन्त्रालयले आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गरेकाे हो ।

जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ ।

सबै निकायहरुले खोप कार्ड हेरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिनुपर्ने जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा उल्लेख छ ।

कोरोना संक्रमणको दर बढ्दै गएपछि काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि निजी र सार्वजनिक सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गरिएको छ । जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालो सेवा प्रवाहको प्रबन्ध मिलाउन भनिएको छ ।

सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनोलगायत बन्द गर्ने निर्णय भएको छ । यस्तै शैक्षिक संस्थाहरुले भौतिक रुपमा पठन पाठन नगर्ने निर्णय भएको छ भने परीक्षाहरु पनि स्थगित गर्ने निर्णय भएको छ । विश्व विद्यालय वा आयोगको पूर्वनिर्धारित विशिष्ठ प्रकृतिको छनौट परीक्षाको हकमा भने स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिनेछ ।

सार्वजनिक स्थलमा भौतिक दुरी कायम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, विदेशबाट आउँदा ५ दिन होम क्वारेन्टिनमा बस्न पनि स्थानीय प्रशासनले आदेश दिएको छ ।

यसैगरी सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपरमार्केट र सबै प्रकारका पसलमा एक पटकमा २० जना भन्दा बढी हुन नपाइने निर्णय गरिएको छ भने खोप कार्ड पनि अनिवार्य गरिएको छ ।

यस्तै विवाह, ब्रतबन्ध,लगायतका सामाजिक कार्यमा २० जनाको उपस्थिति हुन छुट दिइएको छ भने पार्टी प्यालेस प्रयोग गर्न प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिनुपर्नेछ । यस्तै स्वास्थ्य मापदण्ड पालना गरेर रेस्टुरेन्ट खोल्ने, जोर बिजोरका आधारमा निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्ने, मास्क नलगाउनेलाई सार्वजनिक यातायातमा प्रवेश नदिने निर्णय पनि प्रशासनले गरेको छ ।

कोभिडविरुद्धको खोप कार्ड हराएमा के गर्ने ?

कोभिड–१९ विरुद्धको खोप लगाइसकेका व्यक्तिले कोभिड खोप कार्ड हराएमा खोप कार्डको प्रतिलिपी बनाउन सकिने भएको छ ।

दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट कार्ड लिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी जोन्सन एन्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिने र पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिने सूचनामा जनाइएको छ ।

सरकारले यही माघ ७ गतेदेखि सार्वजनिक स्थल प्रवेश गर्न र सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेको छ ।

काठमाडौं उपत्यकामा ३७ हजार बढी सक्रिय संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ३७ हजार बढी सक्रिय संक्रमित रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ जना गरी कुल ९७ हजार ९३ सक्रिय संक्रमित रहेका हुन् । जबकी देशभर सक्रिय संक्रमित ५७ हजार ३२८ जना रहेका छन् । यो भनेको देशभर रहेका कुल सक्रिय संक्रमितमध्ये ६४.७० प्रतिशत उपत्यकामै छन् ।

जनघनत्वका साथै स्वास्थ्य मापदण्ड पालनामा लापरबाहीलगायतका कारण उपत्यकामा कोरोना संक्रमण भयावह बनेको हो । ओमिक्रोन भेरियन्ट छिटो फैलिने कारण पनि जनघनत्व भएको क्षेत्रमा संक्रमण बढेको बताइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७