राष्ट्रिय सभा निर्वाचनमा मतदान सुरू


१२ माघ २०७८, बुधबार

काठमाडौं, १२ माघ । रिक्त १९ पदका लागि आज राष्ट्रिय सभा निर्वाचन बिहान ९ बजेदेखि सातै प्रदेशमा रहेका मतदान स्थलमा मतदान सुरू भएको हो। सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्रमा १९ सिटका लागि मतदान हुँदैछ । आज अपरान्ह ३ बजेसम्म मतदानका लागि समय दिइएको निर्वाचन आयोगले जनाएको छ।

सातै प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा मतदान भएका छन्। मतदाता कोरोना संक्रमित भए पनि मतदान गर्न पाउनेछन्।स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्य गरी कूल २०२५ जना मतदाताले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पाउनेछन्।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ। निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहने छन्।

रिक्त १९ पदका लागि सत्तागठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा एमालेसमेत गरी १२ दलले उम्मेदवार उठाएका छन्। सत्तागठबन्धनका ५ दलले १९ पद भागबन्डा गरेर उम्मेदवारी दिएका छन् भने एमालेले १९ पदमै उम्मेदवार उठाएको छ।

आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन्।

आउँदो फागुन २० गते राष्ट्रिय सभाका १९ सांसदको पदावधि समाप्त हुँदैछ । सो रिक्त हुने स्थानमा एमालेका ८, एकीकृत समाजवादीका ४, माओवादी केन्द्रका ४ र काँग्रेसका ३ सांसद रहेका छ । सो रिक्त रहेको स्थानमा प्रदेश १ बाट ३, प्रदेश नम्बर २ बाट २ , बागमती प्रदेशबाट २, गण्डकीबाट ३, लुम्बिनीबाट ३, कर्णालीबाट ३ र सुदूरपश्चिम प्रदेशबाट ३ गरी १९ सांसद निर्वाचित हुन लागेका हुन् ।
रिक्त १९ पदका लागि विभिन्न दलबाट ४३ जना उम्मेदवार छन्। मतदान सकिएपछि आजै मतगणना गर्ने तयारी छ।

निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७