नेपालको जनसंख्या २ करोड ९१ लाख पुग्यो : पुरुषभन्दा महिला ७ लाख बढी


१२ माघ २०७८, बुधबार

काठमाडौँ : नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । यसपटकको जनगणना अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

अघिल्लोपटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको तथ्यांक विभागले जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । दस वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १०.१८ प्रतिशतले बढेको विभागले जनाएको छ ।

पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । यसअघि विक्रम संवत १९९८ मा गरिएको जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १.२७ प्रतिशत रहेको थियो । त्यसअघि १९८७ र १९७७ मा गरिएको जनगणनामा भने जनसंख्या वृद्धिदर माइनसमा थियो ।

जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७