रेल्वे कम्पनीमा तालाबन्दी


१४ माघ २०७८, शुक्रबार
rail waya company NBzqGvlRnf

धनुषा । नेपाल रेल्वे कम्पनीले पुराना कर्मचारीलाई अनाहकमा निकालेको भन्दै रेल्वे कर्मचारी संघर्ष समितिले तालाबन्दी गरेको छ । शुक्रबार जनकपुरधामस्थित रेल्वे स्टेशनमा रहेको नेपाल रेल्वे कम्पनीको कार्यालयमा उनीहरुले तालाबन्दी गरेका हुन् ।

दुई साता अघिदेखि आन्दोलरत पुराना कर्मचारीले बिहीबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । संघर्ष समितिमा आवद्ध दिलिप साहले विगत १५ दिनदेखि धर्ना, प्रदर्शन गर्दै आए पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताए ।

जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउन जाँदा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झालाई कोरोना संक्रमण भएको भन्दै समस्या समाधान गर्न आलटाल गरिरहेको साहको गुनासो छ । महाप्रबन्धक झाले रेल संचालनका लागि पुस २७ मा ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेपछि विगतमा रेलसम्बन्धी तालिम लिएका कर्मचारीहरु चरणवद्ध रुपमा आन्दोलनमा उत्रेका हुन् ।

कम्पनीका पूर्व महाप्रबन्धक गुरुप्रसाद भट्टराईले रेल सञ्चालनका लागि भन्दै ज्यालादारीमा १५१ जना कर्मचारीलाई नियुक्त गरी तालिमसमेत दिएका थिए । सो तालिमका लागि रेल्वे कम्पनीले झण्डै एक करोड १५ लाख रुपैयाँ खर्च गरेको थियो ।

स्टेशन मास्टर पदका तालिम लिएका मनोज यादवले आफूहरुको नियुक्तिलाई अवैध भन्ने महाप्रबन्धक झाले अहिले कुन कानुनलाई टेकेर नयाँ कर्मचारी भर्ना गरेको भन्दै प्रश्न गरेका छन् । आन्दोलनकारीहरुले पुरानो नियुक्तिलाई पुनर्बहाली गर्न माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७