जुन सरकारले बढी खर्च गर्न सक्छ, उसैले बढी बजेट पाउँछ : अर्थमन्त्री शर्मा


१४ माघ २०७८, शुक्रबार
janardan

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जुन सरकारले सबैभन्दा बढी खर्च गर्न सक्छ, उसैलाई बढी बजेटको व्यवस्था गर्ने बताएका छन् ।
शुक्रबार अर्थ विषयक समितिको भर्चुअल बैठकमा बोल्दै अर्थमन्त्री शर्माले जनतालाई सबैभन्दा बढी सेवा दिने सरकार ‘राम्रो’ र सबैभन्दा बढी खर्च गर्ने सरकारलाई नै बढी बजेटको व्यवस्था गर्ने बताएका हुन् ।

‘सबभन्दा बढी जसले सेवा दियो त्यही राम्रो सरकार,जसले सबभन्दा बढी खर्च गर्न सक्यो त्यसैको लागि बजेट व्यवस्था गर्ने कुरा मैले घोषणा गरेको छु ।’ अर्थमन्त्री शर्माले भने, ‘यहाँहरूले खर्च गरेर अपुग भएमा थप बजेट माग गर्दा हामीले यहाँ बाँडिएको बजेट फिर्ता लिएर भए पनि दिन सक्ने अवस्थामा हुनेछौँ ।’

कोभिड महामारीमा स्थानीय र प्रदेश सरकारले बढी काम गरेको उल्लेख गर्दै उनले तल्ला सरकारहरुले गरेको असल कामको अङ्गीकार संघ सरकारले गर्नुपर्नेमा जोड दिए । संघीयता बलियो बनाउन असल कामको अङ्गीकार गर्नुपर्ने र कतिपय व्यवहारमा सुधार गरेर जानुपर्ने उनले बताए ।

त्यस्तै प्रदेश सरकारका मागहरुलाई आगामी दिनमा नीतिगत रूपमा सम्बोधन गर्दै लैजाने विश्वास व्यक्त गर्दै शर्माले भने, ‘ अहिले जे जति बजेट प्राप्त भएको छ, त्यसमा नै ध्यान दिएर खर्च गर्न अनुरोध छ । तपाईहरूले उठाउनु भएका विषय बारे थप योजना आयोग, राष्ट्र बैंक लगायतसँग बसेर थप छलफल गर्नेछौँ ।’

यसैगरी मन्त्री शर्माले समृद्धिका लागि उत्पादन र पुँजी निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । सोही अवसरमा मन्त्री शर्माले योजनाको दोहोरोपन हुने गरेको भन्दै त्यसलाई समेत नीति निर्माण गरेर समाधान गर्नुपर्ने बताए ।

संघ, प्रदेश र स्थानीय तह (समन्वय र अन्तरसम्बन्ध) ऐन, २०७७ दफा (२२) अन्तर्गत गठित समितिको पहिलो बैठकमा सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीको सहभागिता थियो । बैठकमा मन्त्रीहरुले नीति र कर्मचारीको अभाव,योजनामा दोहोरोपन, विस्तृत अध्ययनविनाका योजना, संघ र प्रदेशबीचको अविश्वास, स्रोत साधनमा अधिकारको कमीलगायतका समस्याका कारण बजेट कार्यान्वयन सन्तोषजनक रूपमा गर्न नसकिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७