कोरोना खोप अनिवार्य गरिएको विरोधमा क्यानडामा चर्कियो प्रदर्शन, प्रधानमन्त्रीले छाडे घर


१७ माघ २०७८, सोमबार
Protest in Ottawa Canada

काठमाडौं । ट्रक चालकहरुलाई समेत कोरोना खोप अनिवार्य गरिएपछि क्यानडामा विरोध प्रदर्शन चर्किएको छ । प्रदर्शनका कारण असुरक्षित महसुस गर्दै प्रधानमन्त्रीले जस्टिन ट्रुडोले परिवारका सदस्यसहित राजधानी ओटावास्थित आफ्नो घर छाडेर अन्यत्र गएको बीबीसीले जनाएको छ । तरू उनी कहाँ गएर बसेका छन् भन्ने खुलाइएको छैन ।

अमेरिका-क्यानडा सीमा पार गर्ने ट्रक चालकहरुलाई पनि कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको छ । त्यसको विरोधमा ट्रक चालकहरुले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक तेर्स्याएर यातायात सेवा अवरुद्ध पारेका छन् । ट्रक चालकहरुलाई साथ दिंदै अन्य हजारौं नागरिकहरु पनि प्रदर्शनमा उत्रिएका छन् । विरोध प्रदर्शनका कारण दोस्रो दिन पनि क्यानडाको राजधानी ओटावा ठप्प भएको बीबीसीले जनाएको छ । यो विरोध प्रदर्शनलाई ‘फ्रिडम कन्भोई’ नाम दिइएको छ । कतिपय प्रदर्शनकारी ओटावाका स्मारकहरुको अपमान गर्ने ढंगले प्रस्तुत भएका छन् ।

खासगरी एक जना सैनिकको चिहानमाथि एक महिला नाच्दै गरेको भिडियो सार्वजनिक भएपछि त्यसको आलोचना भएको छ । यसैगरी सुरक्षामा खटिएका प्रहरीहरुलाई प्रदर्शनकारीले धम्की दिएको र सित्तैमा खानेकुरा माग्दै रेष्टुरेन्टका कर्मचारीहरुलाई दुर्व्यवहार गरिएको समाचार पनि सार्वजनिक भएका छन् ।

रक्षामन्त्री अनिता आनन्दले यस्ता गतिविधिहरुलाई निन्दनीय भनेकी छन् । साथै ओटावा प्रहरीले यस्ता घटनाको छानविन गरिरहेको जनाएको छ । क्यानडा सरकारले यही जनवरी १५ तारिखमा कोरोनाविरुद्धको खोपसम्बन्धी निणर्य गर्दै खोप नलगाएका क्यानेडियन ट्रक चालकहरूले अमेरिका-क्यानडा सीमा वारपार गर्न खोप लगाएको हुनुपर्ने आदेश जारी गरेको थियो । यही आदेशको विरोधमा प्रदर्शन सुरु भएको थियो ।

प्रदर्शनकारीलाई प्रधानमन्त्री ट्रुडोले ‘सानो संख्यामा रहेकाहरु’ भनेर हल्का टिप्पणी गरेका थिए । अहिले त्यही प्रदर्शन व्यापक हुँदै गएको हो । प्रदर्शनकारीहरुले पनि नयाँ माग थप्दै देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको निणर्य हटाउनुपर्ने आवाज उठाउँदै आएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७