कर्मचारीलाई कोरोना : मन्त्रालय सुनसान, दैनिक कामकाज प्रभावित


१७ माघ २०७८, सोमबार
Gandaki pradesh Cabinate

कास्की । अधिकांश कर्मचारीलाई कोरोना भाइर संक्रमण देखिन थालेपछि गण्डकी प्रदेशका सबै मन्त्रालय सुनसान बनेका छन् । कोरोना संक्रमणपछि मन्त्रालयबाट हुने दैनिक कार्य समेत प्रभावित बनेको छ ।

युवा तथा खेलकुद मन्त्रालयका उपसचिव तेजप्रसाद काफ्लेले अधिकांश कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दुई/चार जनाले मात्र सिंगो मन्त्रालय धान्नुपरेको बताए । ‘म पनि बिरामी भएको थिएँ, कोभिड पोजिटिभ देखिएको थियो । तीन/चार दिन घरमै आराम गरेर मन्त्रालय आएको छु,’ उनले भने, ‘अहिले आधा निको भएको छ ।’ उनका अनुसार अन्य कर्मचारी भने बिरामी छन् ।

‘काम रोकिने भएकाले कतिपय बिरामी अफिस आउने, काम गर्ने र जाने गर्नुभएको छ,’ उनले थपे, ‘थोरै कर्मचारीले काम विभाजन गरेर भए पनि मन्त्रालयका काम गरेका छौं ।’ दैनिक हुने काम निरन्तर भइरहे पनि कर्मचारी अभावले रफ्तारमा गर्न नसकिएको उनले बताए ।

गण्डकीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय स्वास्थ्यकर्मी, कर्मचारीलगायतमा कोरोना संक्रमण बढी देखिएको छ । मन्त्रालयका सचिव डा. विनोदबिन्दु शर्माले कोरोनाको उच्च जोखिममा रहेर आफ्नो दैनिकीमा खटिने स्वास्थ्यकर्मी, कर्मचारीलगायतमा कोरोना देखिएको बताए । ‘उच्च जोखिममा भए पनि पहिलो र दोस्रो लहरको कोरोनामा स्वास्थ्यकर्मी धेरै सुरक्षित रहे,’ उनले भने, ‘तेस्रो लहरमा कोरोनाले स्वास्थ्यकर्मी, नर्स, डाक्टर, कर्मचारी लगायत सबैलाई छोएको छ ।’

कतिपय डाक्टर, नर्सलाई दोस्रोपल्ट कोरोना लागेको उनले बताए । चिसो मौसममा हुने रुघाखोकी, ज्वरोसँगै कोरोना पोजिटिभ देखिएको छ । कतिपयलाई कोरोनाविरुद्धको तेस्रो डोजको खोपले पनि ज्वरो निकालेको छ । वन मन्त्रालयका सवारी चालक शिव पौडेलले बुस्टर डोज लगाएपछि ज्वरो आएको बताए । ‘ज्वरो आएपछि टाउको दुख्यो, खोकी लाग्यो, कोभिड परीक्षण गर्दा पोजिटिभ देखायो,’ उनले एक साताको बिदा लिएर आराम गरेको बताए ।

अर्थमन्त्री रामजीप्रसाद बराल कोरोना पोजिटिभ देखिएको नौ दिनपछि मन्त्रालय फर्किए । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव पनि कोरोना संक्रमित भएका छन् । मन्त्रालयकी कर्मचारी कला गैरेले सचिव अनुपस्थित हुँदा कतिपय कामकाज यत्तिकै रहने बताइन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गण्डकी प्रदेशका ११ वटै मन्त्रालय अहिले सुनसान छन् । सचिव, कर्मचारी, महाशाखा प्रमुख, चालकलगायतलाई कोरोना संक्रमण भएपछि मन्त्रालय सुनसान बनेको हो ।

सरकारका प्रवक्ता कुमार खड्काले गण्डकीमा दरबन्दीअनुसार कर्मचारी नभएको अवस्थामा अधिकांशमा कोरोना संक्रमण देखिँदा दैनिक कामकाजमा केही असहज भएको बताए । अहिलेको कोरोनाले बढी शरीर दुखाउने हुँदा छोटो समयमा नियमित काममा फर्किन नसकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५१६ जनालाई कोरोना संक्रमण भएको छ भने, हालसम्म ९८ हजार ४३३ जना कोरोना संक्रमित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७