मनाङबासी एक्स-रेका लागि पनि अर्को जिल्ला जान वाध्य


१७ माघ २०७८, सोमबार
manang health post

मनाङ । सामान्य रोग लागेमा मनाङवासीलाई उपचारको पहुँचमा पुग्न पनि मुस्किल छ । सामान्य औषधि उपचारका लागि नै अर्को जिल्ला नपुगेसम्म हुँदैन । जिल्लाको एकमात्र अस्पतालमा समेत जिल्लावासीलाई आवश्यक आधारभूत उपचार तथा औषधि पर्याप्त पाउने अवस्था छैन ।

मनाङ भौगोलिक रुपमा विकट भएकाले पनि उपचारको पहुँचमा पुग्न समस्या छ । सामान्य उपचारका लागि पनि जिल्ला बाहिर जानुपर्ने समस्या हलगर्न सम्बन्धित निकायलाई स्थानीयवासीको गुनासो छ । सामान्य चोट पटक लागेपछि उपचारका लागि अर्को जिल्ला जानुपर्ने बाध्यता हिमाली जिल्ला मनाङका स्थानीयले खेपिरहेका छन् । एक्स-रे, भिडियो एक्स-रे लगायतका प्राविधिक सेवा मनाङमा उपलब्ध छैनन् । यसले गर्दा यहाँ कुनै चोटपटक लागेका व्यक्ति पनि दुई-तीन दिन लगाएर छिमेकी जिल्ला पुगी उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।

सामान्य देखिएका चोटपटकको उपचारका लागि जिल्लामा मेसिन उपलब्ध रहेपनि उपयोग भने नभएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाको एउटा मात्रै अस्पतालमा पनि सामान्य सेवा प्रवाह गर्न मुस्किल भएको छ । ‘अस्पतालमा आवश्यक चिकित्सक पनि उपलब्ध छैनन् । अस्पतालमा उपलब्ध सामग्री उपयोग गर्न सकेका छैनौँ। यस विषयमा सम्बन्धित निकाय समक्ष समेत जानकारी गराएका छौँ’, आचार्यले भने ।

विकट जिल्ला भीरपाखामा काम गर्ने कामदार तथा स्थानीयमा चोटपटक लागेमा अस्पतालसम्म पुर्‍याए पनि आवश्यक उपचार पाउन नसकेर अन्यत्र जिल्ला पुर्‍याउन सकिएन भने ज्यान जान सक्ने अवस्था छ । अस्पतालमा आएका बिरामीलाई सामान्यबाहेक अन्य सेवा पर्वाह गर्न नसकेको उनले बताए ।

‘मनाङबासीलाई समय हेलिकप्टर चाटर्ड गरेर मात्रै उपचारको पहुँचमा पुग्न सक्ने अवस्था छ । मौसम अनुकूल नभएको अवस्थामा ज्यान नै जान सक्छ । यस्तो जोखिमबाट जोगाउने उद्देश्यले प्रदेश, सङ्घ तथा स्थानीय सरकार समक्ष पहल गरिरहेका छौं । हालसम्म सुनुवाई भने भएको छैन,’ आचार्यले भने, ‘समयमै सम्बन्धित निकाय सचेत भइदिएमा जिल्लावासीलाई यहीँ नै सहज रुपमा उपचार सेवा दिन सकिने छ ।’

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले स्वास्थ्य सेवा सहज बनाउन स्थानीय सरकारसँग पनि समन्वय भइरहेको बताए । उनका अनुसार यहाँका स्थानीय सरकारले पनि प्रदेश र सङ्घीय सरकारलाई यसका लागि दबाब दिएका छन् । ‘जिल्ला अस्पतालमा प्राविधिकको आवश्यकता छ । अस्पतालमा मेसिन मात्रै जडान गरेर भएन । चलाउने प्राविधिकको आवश्यकता छ । यसको पूर्तिका लागि प्रदेश सरकारसमक्ष पेश गरेका छौं । विकट जिल्ला भएकाले होला यहाँ कर्मचारी आउन नचाहेको जस्तो पनि लाग्छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारले यसको व्यवस्थापन गरोस् भनेर अपिल गरिरहेका छौँ’, प्रजिअ आचार्यले भने, ‘छिट्टै प्राविधिकको व्यवस्थापन गर्ने काममा लाग्नेछौं ।’

स्थानीय सरकारले पटकपटक जिल्लामा कम्तीमा आधारभूत स्वास्थ्य सेवा सहज बनाउन प्रदेश र संघीय सरकार समक्ष आग्रह गरिरहेको जनाउँदै आएका छन् । समयमा सम्बन्धित निकायको ध्यान पुगेमा मनाङवासीको सकसपूणर् सडकमार्फत अर्को जिल्लामा पुगेर उपचार गर्नुपर्ने बाध्यता हट्न सक्नेछ । नवीन लामिछाने/रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७