सोलुमा भारी हिमपात : तीन दिनदेखि सिद्विचरण राजमार्ग अवरुद्ध


२३ माघ २०७८, आईतवार
pattale 3 30122021114023 1000x0 Sf6rVmaQXM 1

सोलुखुम्बु । भारी हिमपातका कारण सिद्विचरण राजमार्ग अवरुद्ध बनेको छ । गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा तीनदिनदेखि राजमार्ग बन्द भएको हो । सडक अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुमा सवारी आवागमन ठप्प बनेको छ ।

सडकमार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा शुक्रबार बिहानदेखि सवारी आवागमन पूणर्रुपले बन्द भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक कृष्ण कटुवालले जानकारी दिए । यतायात व्यवसायी दोर्जी शेर्पाका अनुसार पत्ताले क्षेत्रका सडकमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको छ । सडक खुलाउन सडक डिभिजन कार्यालय ओखलढुङ्गाले जेसिबीको प्रयोग गरे पनि सम्भव नभएको जनाइएको छ ।

स्थानीयवासी ङिमा ग्लाल्जेन शेर्पाका अनुसार जेसिबीले सडकको हिउँ सोरेर सडक खुलाउने कोसिस गरे पनि शनिबारसम्म हिमपात नरोकिएकाले समस्या भएको हो । यसका कारण बाहिरी जिल्लाबाट सोलुखुम्बुका लागि छुटेको सावरीसाधन ओखलढुङ्गाको ठाढे, टोड्के, विपलाटेलगायतका स्थानमा तीन दिनदेखि रोकिएका छन् भने सोलुखुम्बुबाट छुटेका केही सवारी सोलुदूधकुण्ड नगरपालिका-११ बेलिडाँडामा रोकिएका छन् ।

सवारीसाधन गन्तव्यमा पुग्न नसक्दा सयौँ यात्रुको बिचल्लीमा परेका छन् । सवारी रोकिएसँगै खानबस्नको समेत समस्या भएको यात्रुहरूले गुनासो गरेका छन् । विशेष गरी असक्त, बालबालिका, वृद्धवृद्वा यात्रु समस्यामा परेको बताइएको छ । जन्तीसमेत ठाडे क्षेत्रमा रोकिएका सल्लेरीका दीपक राजभण्डारीले बताए । आफ्ना, आफन्तसमेत जन्ती आउँदै गरेको भए पनि अहिले सडकमा जमेको हिउँका कारण सवारी सञ्चालन हुन नसक्दा बीचबाटोमै रोकिएको उनको भनाइ छ ।

काठमाडौंदेखि सोलुसम्मका यात्रामा शुक्रबार नै निस्केको भए पनि ओखलढुङ्गाको टोट्केमै रोकिएर बस्नुपरेको दीपक केसीले बताए । हिमपात भएको बेला सामान्य भए पनि यसपछिको सडक यात्रा जोखिमपूर्ण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कटवालले जानकारी दिए । सडकमा हिउँ जम्ने र भौगोलिक अवस्थाका कारण दुर्घटनाको जोखिम हुने भएकाले यस्तो अवस्थामा अतिआवश्यक कामबाहेक यात्रामा ननिस्कन उनले आग्रह समेत गरे । आज दिउँसोसम्ममा सडक सुचारु गराउन प्रयास सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७