सातै प्रदेशमा मल कारखाना स्थापना गर्न सस्तो विद्युत उपलब्ध गराउँछौं : उर्जामन्त्री भुसाल


२४ माघ २०७८, सोमबार
Meeting bhusal W3yG1COu4h

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले जलविद्युतको प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताएकी छन् । कृषि मन्त्रालयमा सोमबार भएको छलफलमा उनले दीर्घकालीन एवं राष्ट्रको हितका लागि पनि जलविद्युतकै प्रयोगबाट सम्पूणर् उद्योग तथा कलकारखाना सञ्चालन हुनुपर्ने बताइन् । उनले भनिन्, ‘देशभित्र ऊर्जाको रुपमा जे खपत हुन्छ त्यो जलविद्युतबाट उत्पादित ऊर्जा नै हुनुपर्छ ।’

लगानी बोर्डमार्फत लगानी गर्ने उद्योगी व्यवसायीहरूले पनि नाफासँगै देशको माया गरेर विद्युतीय ऊर्जा खपतलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो । जलविद्युत प्रयोग गरेर मलकारखाना स्थापना गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘हामी आवश्यकता अनुसारको विद्युत उपलब्ध गराउन तयार छौं । जलविद्युत आयोजनाको सञ्चालन खर्च मात्र लिएर पनि विद्युत दिन तयार छौं ।’
मन्त्री भुसालले ऊर्जाकै कारणले मल उत्पादनमा लागत महङ्गो हुने स्थिति आउन नदिने विश्वास दिलाइन् । मन्त्री भुसालले भनिन्, ‘ऊर्जाकै कारणले महङ्गो हुने स्थिति आउँदैन त्यसका लागि ऊर्जा मन्त्रालय आश्वस्त पार्न चाहन्छ ।’

डलर खरिद गरेर ल्याएको ग्यासभन्दा देशभित्र उत्पादन भएको स्वदेशमै उत्पादन भएको ऊर्जा प्रयोग गर्नुपर्नेमा उनको जोड थियो । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले मलखादमा पनि देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै मल अभावको राष्ट्रिय समस्यालाई हल गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताए । उनले विद्युत उत्पादनबाटै मल उत्पादन भयो भने आत्मनिर्भर हुने बताउँदै लागतको विषयमा पनि छलफल गर्नुपर्ने बताए ।

उनले भने, ‘सात वटै प्रदेशमा मल कारखाना स्थापना गर्ने गरी सोच्नुपर्छ, प्रत्येक प्रदेशमा दुई लाख मेट्रिक टन क्षमताको कारखाना स्थापना गर्नेगरी अगाडि बढ्नुपर्छ ।’ त्यस अवसरमा नेपालका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खाद्य सुरक्षाको लागि पनि मख कारखाना स्थापना महत्वपूर्ण भएको र त्यसका लागि नेपालकै विद्युतीय ऊर्जा प्रयोग हुनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७