एमसीसी फिर्ता लैजान अमेरिकालाई वामदेवको आग्रह


२५ माघ २०७८, मंगलवार
bamdev

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक समेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लैजान अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति पनि न्यून नभएको भन्दै परियोजनालाई फिर्ता लान गौतमले आग्रह गरेका हुन् । उनका अनुसार विवादित परियोजनाले नेपालको अहित गर्नेछ ।

मंगलबार बिहान विज्ञप्ति जारी गर्दै गौतमले भनेका छन्, ‘अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना भएको स्थिति देखिएको छ । नेपालको अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकार र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र अमेरिकी सरकार समक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

नेपालको हितका लागि एकपक्षीय रूपमा भए पनि अमेरिकी सरकारले परियोजना फिर्ता गर्नुपर्नेमा पनि गौतमको जोड छ । उनले एमसीसी सम्झौता कार्यान्वयन गरिँदा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको पनि बताएका छन् । एमसीसी परियोजनाका कारण सत्तारूढ पाँच दलीय गठबन्धन संकटमा परेका बेला नेता गौतमको यो अभिव्यक्ति आएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७