एमसीसी पन्छाएर गठबन्धन जोगाउनेतिर कांग्रेसको चासो रहँदैन : मिन विश्वकर्मा


२५ माघ २०७८, मंगलवार
min biswokarma

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अमेरिका सहयोग परियोजना (एमसीसी) पन्छाएर गठबन्धन नजोगाउने बताएका छन् ।
बुधबार सञ्चारमाध्यमसँगको कुराकानी नेता विश्वकर्माले राष्ट्रिय सरोकारका विषय एमसीसीलाई पन्छाएर गठबन्धन जोगाउनतर्फ कांग्रेसको चासो नरहने बताए । उनले राष्ट्रिय सरोकारको विषय एमसीसी परियोजनालाई यथास्थितिमा राखेर गठबन्धन जोगाइराखेमा जनताले सत्तारुढ दलहरूलाई नपत्याउने बताए ।

‘हामी गठबन्धनलाई साथसाथै लिएर राष्ट्रिय सरोकारका मुद्दाहरूलाई टुंगोमा पुर्‍याउन चाहन्छौं,’ उनले भने, ‘कथम् कदाचित यी मुद्दाहरूलाई पन्छाएर गठबन्धन जोगाऔं भन्यो भने हाम्रो त्यतातिर खासै चासो रहँदैन, त्यो अवस्थामा एक्लैले सरकार नबनेपछि निर्वाचन अगाडि आउँछ ।’ मुलुकलाई कुनै न कुनै गठबन्धनबाट भए पनि निकास दिनुपर्ने अवस्थाको बारेमा पनि आफूहरूले सोचेको उनको भनाइ छ ।

‘त्यसैले कुनै न कुनै गठबन्धनबाट भए पनि मुलुकको राजनीतिलाई निकास दिनुपर्छ,’ उनले भने, ‘मुलुकका राष्ट्रिय सरोकारका विषयहरुलाई निकास दिनुपर्छ । हामी त्यो बारेमा पनि सोच्दैछौं ।’ नेता विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्नेगरी एमसीसीको विषयलाई गिजोलिएको समेत बताए । एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलहरूले नै गलत प्रचारबाजी गरेर भ्रम सिर्जना गराएको उनको भनाइ छ ।

‘राजनीतिमा यस्तो बेइमानी र बठ्याइँ नहुनु पर्ने हो,’ उनले भने, ‘आफैले प्रयास गरेर, आफैले मागेर आफै प्रक्रियामा सामेल भइसकेपछि आएको परिणाममा यसरी विमती र फरक-फरक विचारधारा प्रस्तुत गरेर राष्ट्रिय राजनीतिको परिधिभित्र मात्रै छु भन्ने महसुस गरी अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत पनि अप्ठ्यारो पार्ने गरी जसरी यो विषय गिजोलियो, यो विषयलाई यसरी गिजोल्नु हुँदैन थियो ।’

एमसीसीको विषयमा छरिएका भ्रम र प्रचारबाजीले मुलुकको अन्तर्राष्ट्रिय अनुहारलाई पनि धमिल्याउने काम भएको र यो दुर्भाग्यपूणर् भएको उनको भनाइ छ । नेता विश्वकर्माले नेपाली कांग्रेसकै नेतृत्वमा निर्वाचन सम्पन्न होस् भन्ने कुरामा प्रमुख प्रतिपक्षी दल र सरकारमा सम्वद्ध दलहरू पनि सन्तुष्ट रहेको बताए । निर्वाचनलाई शतप्रतिशत् निष्पक्ष बनाउन कांग्रेसले प्रयत्न गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७