त्रिविको परीक्षा दिएका सयौं विद्यार्थीको नतिजा अनुपस्थित, मार्कसिटमा चढेन प्रयोगात्मक नम्बर


२६ माघ २०७८, बुधबार
TU

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका परीक्षामा सहभागी सयौं विद्यार्थीको नतिजा अनुपस्थित आएको छ । व्यवस्थापन संकायको डिन कार्यालयमा सबैभन्दा धेरै अनुपस्थित छ । परीक्षा नियन्त्रण कार्यालय र अरू डिन कार्यालयबाट सञ्चालित परीक्षामा समेत परीक्षा दिएका विद्यार्थीको नतिजा अनुपस्थित देखिएको छ ।

डिन कार्यालयले सेमेस्टर प्रणालीका परीक्षा लिएर नतिजा सार्वजनिक गर्छ भने परीक्षा नियन्त्रण कार्यालय बल्खुले वार्षिक प्रणालीका परीक्षा लिने गरेको छ । परीक्षा दिएको विषयमा अनुपस्थित आएपछि विद्यार्थी कोभिडको जोखिम मोलेर निवेदन दिन जिल्ला-जिल्लाबाट काठमाडौं आइरहेका छन् । कतिपय विद्यार्थीको सबै विषयमा र कतिपयको एक-दुई विषयमा अनुपस्थित नतिजा आएको छ ।

अनुपस्थितलगायत परीक्षाको नतिजा सच्याउन दैनिकजसो निवेदन परेका छन् । त्रिविको आंगिक क्याम्पसमा पढेका एमबिएस तेस्रो वर्षको परीक्षा दिएका एक विद्यार्थीले भने, ‘पहिलो र दोस्रो सेमेस्टरमा राम्रो नतिजा आएको छ, केही दिनपहिले आएको तेस्रो सेमेस्टरमा तीन विषयमा राम्रो छ, एक विषयमा परीक्षा दिए पनि अनुपस्थित आएछ, तनाव भएको छ ।’ उनले अहिले त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयअन्तर्गतको परीक्षा शाखामा निवेदन दिएका छन् ।

व्यवस्थापन डिन कार्यालयले जुनसुकै ठाउँमा पढेको भए पनि सबै परीक्षा केन्द्रबाट जाँच दिन पाउने व्यवस्था गरेको थियो । ‘जसले जहाँबाट दिन सक्छ त्यहीँबाट सहभागी हुने व्यवस्था गर्‍यौं,’ व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले भने, ‘अहिले सबै ठाउँबाट परीक्षा दिने व्यवस्था गरेका कारण त्रुटि हुँदा अलि बढी अनुपस्थित नतिजा आएको छ ।’ अहिले आवेदन संकलन भइरहेको उनले बताए ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीले नतिजा भइसकेका विषयमा अनुपस्थित देखिने समस्या कम भएको र अब नतिजा हुने विषयमा धेरै समस्या आउने देखिएको बताए । गत साउनमा सञ्चालित प्रथम वर्षको परीक्षामा अनुपस्थितको समस्या धेरै आउने देखिएको उनले बताए । त्यतिवेला अनलाइनबाट फारम भरेको, परीक्षाको अघिल्लो दिनसम्म फारम भरेको, कोरोनाको समस्या भएकाले रजिस्ट्रेसन नम्बर नभएकालाई पनि परीक्षामा सहभागी गराइएकाले समस्या देखिएको उनको भनाइ थियो । त्यतिवेला दुई लाख ४२ हजार विद्यार्थीले पायक पर्ने ठाउँबाट परीक्षा दिन पाउने व्यवस्था गरेकाले अनुपस्थितलगायत समस्या आउने उनले बताए ।

कतिपयले परीक्षा आवेदनमा भरेको विषयभन्दा फरक विषयमा जाँच दिएको र आफ्नो ठाउँमा हाजिरी नगर्दा अनुपस्थित आउने गरेको बताए । उनले भने, ‘अनुपस्थित आएको ठूलो समस्या हुँदैन, हाजिरी गरेको छ भने समस्या समाधान हुन्छ ।’

विद्यार्थी र अभिभावक तनावमा
विराटनगर महेन्द्र मोरङ क्याम्पसमा मानविकी तथा सामाजिक शास्त्र संकायको स्नातक तेस्रो वर्षको परीक्षाफलको तीव्र प्रतीक्षा गरिरहेकी थिइन्, आशिका लम्साल । कोभिडका कारण समयमा परीक्षा नहुँदा र नतिजा आउन सकेको थिएन । तर, गत माघमा परीक्षाफल प्रकाशित भएपछि विद्यार्थी आशिकालाई अर्को तनाव थपियो । नतिजामा फेल देखाइएको थियो ।

सबै विषयमा राम्रो नम्बर ल्याएकी आशिकाको प्रयोगात्मक परीक्षाको भने कुनै नम्बर थिएन । प्रयोगात्मक कार्यको नम्बर नहुँदा उनको नतिजा फेल आएको पत्ता लाग्यो । तर, उनले सबैभन्दा राम्रो प्रयोगात्मक कार्य गरेको दाबी छ । सो क्याम्पसमा उनको मात्र होइन यस्ता धेरै विद्यार्थीको उस्तै समस्या छ ।

क्याम्पस प्रमुख बाबुराम तिम्सिनासँग विद्यार्थीले बुझ्दा त्रिविको परीक्षा नियन्त्रण कार्यालयबाट नम्बर चढाउन भुल भएको हुन सक्ने भएकाले निवेदन दिएमा लब्धांकपत्र सच्चिएर आउन सक्ने जानकारी दिए । तर, कोरोनाले क्याम्पस बन्द भएकाले उनीहरूको निवेदन दर्ता हुन पाएको छैन ।

विद्यार्थी आशिकाका अनुसार यस्तो लापरबाही पहिलो पटक भएको होइन । मोरङ क्याम्पसमा प्रायः सबै तहका विषयमा पहिलेदेखि लापरबाही भइरहेको विद्यार्थीको गुनासो छ । नतिजा आएपछि विद्यार्थीले आफ्नो गल्ती नहुँदा पनि दुःख पाउने गरेका छन् ।

विद्यार्थी आशिका भन्छिन्, ‘समस्या सामान्यजस्तो देखिए पनि धेरै संवेदनशील छ, सानो लापरबाहीकै कारण विद्यार्थी मात्र नभएर अभिभावकसमेत तनावमा पर्ने गरेका छन् । यो सुधार हुनुपर्छ ।’ त्रिविका अधिकारी भने क्याम्पसहरूले प्रयोगात्मक कार्यको नम्बर पठाउन ढिला गर्दा समेत यस्तो समस्या आउने गरेको बताउँछन् ।

यसकारण भयो समस्या : प्रा.डा. डिल्लीराज शर्मा, डिन, व्यवस्थापन संकाय, त्रिवि
अहिले हामीले सबै परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गर्‍यौँ । काठमाडौंमा पढेका कसैले धनगढी, कसैले डोटी, यस्ता धेरै ठाउँबाट परीक्षा दिए । धेरै ठाउँबाट परीक्षा दिँदा कलेजहरूले हाजिरी पठाइदिएनन्, रुजु गरिदिएनन् ।

छुटेकालाई रुजु गरेर रिजल्ट दिने भनेका छौँ । हाजिरी रुजु भएपछि समस्या समाधान हुन्छ । अहिले निवेदन संकलन भएको छ, केही दिनमा नतिजा हुन्छ । व्यवस्थापन डिन कार्यालयले जुनसुकै ठाउँमा पढेको भए पनि सबै परीक्षा केन्द्रबाट जाँच दिन पाउने व्यवस्था गरेको थियो । प्राविधिक रूपमा छुट्न गएको हो, समाधान हुन्छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७