लक्ष्य ६३ दिनभित्र सबैलाई कोभिड खोप : अझै एक करोड १२ लाख नागरिक पहुँच बाहिर

स्वास्थ्यमन्त्री भन्छन्, ‘छिट्टै सबै नागरिकलाई बुस्टर डोज दिन्छौं’


२६ माघ २०७८, बुधबार
khop 1 1

काठमाडौं । सरकारले कोरोनाविरुद्ध खोप अभियान तीव्र बनाएको बताए पनि अझै एक करोड १२ लाख नागरिक खोपको पहुँच बाहिर रहेको पाइएको छ ।

आउँदो चैत मसान्त अर्थात् अबको ६३ दिनभित्र सबै नागरिकलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराइसक्ने सरकारको लक्ष्य छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनाअघि पदबहाली गर्दा खोप पहिलो प्राथमिकतामा रहेको बताएका थिए । ‘मेरा तीनप्राथमिकता खोप, खोप र खोप,’ देउवाले भनेका थिए । तर, सरकारलाई लक्ष्यमा पुग्न सकस देखिएको छ । अझै पनि एक करोड १२ लाख ८० हजार ५४१ नागरिकले खोपको कुनै पनि मात्रा नलगाएको पाइएको छ । दैनिक एक लाख ७९ हजार ५६ नागरिकलाई पहिलो मात्रा दिन सके मात्रै लक्ष्यमा पुग्ने देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप अद्यावधिक विवरणअनुसार मंगलवारसम्म १ करोड ५८ लाख एक हजार ७३४ नागरिकले कोरोनाविरुद्ध खोपको पूणर् मात्रा लगाएका छन् । यस्तै, एक करोड ७९ लाख ११ हजार ९३९ नागरिकले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ६ लाख ४४ हजार ५४४ नागरिकले अतिरिक्त खोप लगाएका छन् । सरकारले एक करोड ९९ लाख २२ हजार १६४ नागरिकलाई पूणर् मात्रा खोप लगाउने लक्ष्य लिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रले खोप अभियान तीव्र पारिएको बताइन् । उनले भनिन्, ‘सरकारले खोप अभियान तीव्र पारेको छ । मुख्यतः कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पनि आम नागरिकलाई चैत मसान्तभित्र कोरोना विरुद्ध खोपको पूणर् मात्रा लगाइसक्ने बताउँदै आएका छन् । सरकारले पर्याप्त मात्रामा खोप मौज्दात रहेको भन्दै खोप अभियानलाई तीव्र पारिएको जनाएको छ ।

हालसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्रेजेनिका, फाइजर खोप उपयोगमा आएको छ । जसमध्ये जोन्सन एण्ड जोन्सन खोप एक मात्रा भए पुग्छ भने फाइजर खोप बालबालिकाका लागि प्रयोगमा छ । अतिरिक्त खोपका रुपमा बुस्टर डोज प्रयोगमा आएको छ ।

स्वास्थ्यमन्त्री भन्छन्, ‘छिट्टै सबै नागरिकलाई बुस्टर डोज दिन्छौं’
स्वास्थ्यमन्त्री विरोध खतिवडाले सबै नागरिकका लागि छिट्टै कोरोनाविरुद्धको बुस्टर डोज प्रदान गर्ने बताएका छन् । बुधबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको ज्ञापनपत्र बुझ्दै मन्त्री खतिवडाले अहिले अग्रपंत्तिमा काम गर्नेलाई दिइरहेको बुस्टर डोज केही दिनभित्रै सबै नागरिकका लागि प्रदान गर्ने दावी गरेका हुन् ।

मन्त्री खतिवडाले विद्यार्थीहरूका लागि पनि खोप प्रदान गर्ने काम शुरु भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउने बताए । त्यस्तै उनले कोरानाविरुद्धको थप खोप ल्याउने क्रममा रहेको भन्दै खापको अभाव हुन नदिने बताए । विपन्न वर्गका लागि स्वास्थ्य उपचार निःशुल्क नै रहेको भन्दै सर्वसाधारणमा जानकारी नहुँदा प्रभावकारी हुन नसकेको उनले बताए । अनेरास्ववियूले सरकारी र सामुदायिक अस्पतालमा विद्यार्थी, किसान, मजदुरलगायत आर्थिक अभाव भएका नागरिकको उपचारमा चेकजाँच दर्ता निःशुल्क बनाएर सहज उपचार गर्ने वातावरण बनाउन माग गर्दै मन्त्री खतिवडालाई ज्ञापन पत्र बुझाएको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७