सहन्यायाधिवक्ता थापाविरुद्ध ६१ लाख भ्रष्टाचारको मुद्दा


२६ माघ २०७८, बुधबार
Bishes Adalat2020 02 05 05 10 01

काठमाडौं । उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सहन्यायाधिवक्ता (हाल निलम्बित) सुरेन्द्रबहादुर थापाविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६१ लाख दुई हजार विगो कायम गर्दै सहन्यायाधिवक्ता थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अनुसन्धानमा ३० वर्षको सार्वजनिक सेवामा थापाले दुई करोड ३७ लाख ७८ हजार कमाएको र एक करोड ७६ लाख ७६ हजार मात्रै वैध आय देखिएको अख्तियारले जनाएको छ ।

थापा २०४५ असार ५ गते सार्वजनिक सेवाको पदमा प्रवेश गरेका थिए । खर्च तथा लगानी गरेको देखिँदा आयभन्दा बढी देखिएको ६१ लाख दुई हजार रकमको स्रोत खुल्न नसकेको देखिएको छ । उनले राष्ट्र सेवक भएपश्चात के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकी गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको अख्तियारका सहप्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

थापा र उनको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पाइएको छ । आफ्नो हैसियतभन्दा बढी रकम श्रीमती अन्जु खड्का थापाको नाममा ट्रक खरिद, जग्गा खरिद, घर निर्माण एवं विभिन्न बैंकहरुमा जम्मा गरेको देखिएको छ । खड्कालाई अख्तियारले प्रतिवादी बनाएको छ ।

सहन्यायधिवक्ता थापाविरुद्ध ६१ लाख दुई विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै थापाले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिसमेत साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १६ ग, दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख, बमोजिम असुलउपरजफत गरी पाउन मागदावी गरिएको छ ।

थापाकी श्रीमती अन्जु खड्का थापा समेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गरी पाउन मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७