बढ्नुपर्ने तर, घट्यो रेमिट्यान्स : क्रिप्टो र नेटवर्किङमा लगानी भएकै हो त ?


२८ माघ २०७८, शुक्रबार
remitance Rh1uYYmPWF

काठमाडौं । कोरोना महामारीका कारण गत वर्ष विश्वमा धेरैले रोजगारी गुमाए । लाखौं नेपाली कामदार स्वदेश फर्किए । त्यतिबेला, रोजगारीका लागि विदेश जानेको संख्यामा पनि कमी थियो । त्यति हुँदा पनि रेमिट्यान्स (विप्रेषण) मा भने कुनै कमी आएन ।
तर, चालू आर्थिक वर्षको सुरुवात (साउन) देखि भने रेमिट्यान्स घट्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विश्वबाट कोरोना महामारीको प्रभाव हट्दै गएको र वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएका बेला ‘अनौठो ढंग’ ले रेमिट्यान्स घट्दै गएको छ ।

रेमिट्यान्स घट्नुको कारण के ?
राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ वैदेशिक रोजगारीमा गएका नेपालीहरूले क्रिप्टोकरेन्सी र नेटवर्किङ व्यवसायमा लगानी गरेका कारण रेमिट्यान्स घटेको हुन सक्ने अनुमान गर्छन् ।

‘विगतका वर्षका तुलनामा यस वर्ष रेमिट्यान्स लगातार घटिरहनुमा क्रिप्टो करेन्सी र नेटवर्किङमा लगानीको कारण हुनसक्छ,’ श्रेष्ठले भने । गत आर्थिक वर्ष ०७७/०७८ मा ९ खर्ब ६१ करोड रेमिट्यान्स आएको थियो । नेपाल राष्ट्र बैंकको अनुसार चालू आर्थिक वर्षको ६ महिनामा जम्मा ४ खर्ब ६८ अर्ब ४५ करोड मात्रै रेमिट्यान्स भित्रिएको छ । साउन यता मासिक २ अर्बभन्दा कम रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ । औसतमा मासिक ७८ अर्ब रेमिट्यान्स आइरहेको बैंकको तथ्यांकले देखाउँछ। तर, गत वर्ष औसतमा मासिक ८० अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो ।

पुसमा भने अघिल्लो महिनाको तुलनामा रेमिट्यान्स केही बढेको छ । गत वर्षको तुलनामा भने अझै ५.५ प्रतिशतले रेमिट्यान्समा कमी नै छ । राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, ‘रेमिट्यान्स लगातार घट्दै गएको र क्रिप्टो तथा नेटवर्किङमा आबद्धता खुल्दै गएकाले राष्ट्र बैंकले सूष्म तरिकाले अध्ययन गर्न थालेको छ ।’ विदेशमा रहेका नेपाली कामदारहरू नेटवर्किङ र क्रिप्टोकरेन्सीमा लगानी गर्न थालेपछि बैधानिक बाटोबाट रेमिट्यान्स आउन कमी भएको विज्ञको अनुमान छ ।

पछिल्लो समयमा विदेशमा बस्ने नेपालीहरूले हाइपर भर्स, जोसियल, सोलेम्यासलगायतका नेटर्किङमा जोडिएर क्रिप्टो खरिद गर्न थालेको देखिन्छ । जसले गर्दा नेपाल आउनुपर्ने रेमिट्यान्स उतै रोकिएको विज्ञहरूको अनुमान छ । रेमिट्यान्स घट्नुमा हुन्डीको कारोबार पनि अर्को कारण हो । अर्थविद् ज्ञानेन्द्र अधिकारी रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउनुपर्ने बताउँछन् । ‘आफ्नै मोबाइलबाट थोरै शुल्कमा रेमिट्यान्स पठाउने व्यवस्था हुनुपर्छ’, उनले भने, ‘यसो हुन सके हुन्डीबाट आउने रेमिट्यान्स रोकिन्छ ।’

नेपाल र गन्तव्य मुलुकमा कोभिड सहज भएसँगै हुन्डीमार्फत रेमिट्यान्स आउने रकम बढेको राष्ट्र बैंकका अधिकारीहरू स्वीकार गर्छन् । बैंक तथा रेमिट कम्पनीबाट पैसा पठाउन झन्झट र बढी लागत लाग्ने भएकाले कामदारले हुन्डीमार्फत रेमिट्यान्स पठाउने गरेको पाइएको छ । श्रमविज्ञ गणेश गुरुङ क्रिप्टोकरेन्सी र नेटवर्किङमा केही रकम गएको भए पनि रेमिट्यान्स घट्ने गरी नगएको बताउँछन् । ‘यहाँ लकडाउन हुँदा रेमिट्यान्स बढ्छ, त्यो बेला हुन्डीको कारोबार असहज हुने भएकाले त्यस्तो भएको हो,’ गुरुङले भने ।

श्रमिक गन्तव्य मुलुकबाट एक पटकमा २ सय अमेरिकी डलर पठाउँदा औसतमा ४.५ प्रतिशत र ५ सय डलर पठाउँदा ३ प्रतिशत शुल्क लाग्ने गरेको छ । तर, अधिकांश श्रमिक अदक्ष/अर्धदक्ष हुने भएकाले उनीहरूले एक पटकमा २ सय डलर पठाउने र ४.५ प्रतिशत शुल्क तिर्ने गरेका छन् । कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको २५ प्रतिशतभन्दा बढी योगदान छ । कुनै बेला रेमिट्यान्सको ३० प्रतिशत योगदान पुगेको थियो । तर, रेमिट्यान्स घट्दै गएकाले जीडीपीमा पनि त्यसको असर पर्ने अनुमान गरिएको छ ।

विदेश जानेको संख्या बढ्यो
वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा नयाँ, पुनः श्रमस्वीकृति र वैधानीकरण गरी २ लाख ५३ हजार बढी वैदेशिक रोजगारीमा गएका हुन् । विभागका अनुसार पुस महिनामा ६६ हजार ६ सय २५, मंसिरमा ७४ हजार ३ सय ५४, कात्तिकमा ५४ हजार ९ सय १८, असोजमा ३९ हजार ६ सय ७१, भदौमा ३६ हजार ४०, साउनमा १३ हजार ८ सय जना वैदेशिक रोजगारीमा गएका हुन् ।

गत वर्ष २०७७/७८ मा १ लाख ६६ हजार ६ सय ९८ र आव २०७६/७७ मा ३ लाख ६८ हजार ४ सय ३३ जना वैदेशिक रोजगारीमा गएका थिए । कोभिड महामारी अघि आर्थिक वर्ष २०७५/७६ मा ५ लाख बढी वैदेशिक रोजगारीमा गएका थिए ।

कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) बहराइन, कुवेत, ओमन र मलेसिया नेपाली कामदारका प्रमुख गन्तव्य मुलुक हुन् । यी देशबाट प्रतिव्यक्ति औसत मासिक २२ हजार रुपैयाँ मात्रै रेमिट्यान्स आउने गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७