यसरी गरियो चार करोडको सुन तस्करी


२ फाल्गुन २०७८, सोमबार
kdfmmg1644799874

काठमाडौं । आफैले लगाएको कपडामै फल्स बटम बनाएर चिनियाँ नागरिक ३६ वर्षीय झाङ लीले झण्डै चार करोड रुपैयाँको सुन तस्करी गरेको खुलेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार उनी पक्राउ पर्दा भन्सार जाँच पास गरेर अघि बढिसकेका थिए । तर, उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले शरीर खानतलासी गरेको थियो । सो क्रममा लगाएको कपडामा डिटेक्टर मेसिनले डिटेक्ट गर्न नसक्ने गरी फल्स बटम बनाएर सुन ल्याएको फेलापरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनलाई सादा पोसाकमा परिचालित प्रहरी टोलीले पक्राउ गरेको थियो । हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आउने क्रममा विमानस्थलको आगमन टनेल गेटमा प्रहरीले जाँच गर्दा उनको शरीरमा सुन फेला पारिएको हो ।

‘उसको हाउभाउ गतिविधि शंकास्पद देखिएपछि सादा पोसाकमा खटिएका प्रहरीले जाँच गर्दा झन्डै पाँच किलो सुन फेलापार्‍यो, डिटेक्टरले समेत डिटेक्ट नगर्ने गरी कपडामा फल्स बटम बनाएर सुन ल्याएको पाइएको छ’, ढकालले भने । बरामद सुन अर्धठोस अवस्थाको छ । पेन्टको पेटी बाँध्ने भागमा फल्स बटम बनाएर एक पोका तथा भित्र वस्त्रका विभिन्न स्थानमा फल्स बटम बनाएर अन्य तीन गरी जम्मा चार पोका सुन बरामद भएको छ ।

सबै सुन चार किलो ८४० ग्रामको छ । यसमा ९८.६६ प्रतिशत सुन रहेको परीक्षणमा पत्ता लागेको छ । यसको बजार मूल्य झन्डै चार करोड रुपैयाँको छ । उनलाई आइतबार थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

यसअघि, गत माघ १९ गते प्रहरीले मलद्वारभित्र लुकाएर सुन ल्याउँदै गरेका एकसहित तीनजनालाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनीहरू पनि भन्सार जाँच पास गरेपछि नै पक्राउ परेका थिए । उनीहरूबाट झन्डै एक करोड बराबरको एक किलो १५५ ग्राम सुन तथा चारवटा आइफोन बरामद गरिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ढकालका अनुसार पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका-१० का ३२ वर्षीय सुनीलकुमार साह, मकवानपुरको मनहरीका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपलिका-३ का दावा छिरिङ शेर्पा रहेका छन् । शेर्पाले भने मलद्वारमा सुन लुकाएर ल्याएका थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७