सिंहदरबारमा सर्वदलीय बैठक जारी, आएन एमाले


२ फाल्गुन २०७८, सोमबार
sarbadaliya 2 11 R47i1sTDIH

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सिंहदरबारमा अहिले सर्वदलीय बैठक चलिरहेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग समसामयिक विषयमा छलफल गर्न सभामुख सापकोटाले बोलाएको बैठक जारी रहेको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा संसद्को गतिरोध अन्त्य, प्रधानन्याधीशविरुद्ध महाभियोग प्रकरण, एमसीसीलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएपछि सोमबार सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको छ । पार्टीले कारबाही गरेका १४ सांसदलाई नहटाएको भन्दै सभामुख सापकोटाप्रति एमालेले असन्तुष्टि जनाउँदै आएको छ ।

जबराविरुद्ध महाभियोग प्रस्ताव संसद्मा दर्ता गरेपनि प्रस्ताव पारित गर्न चाहिने दुई तिहाइ बहुमत पुर्‍याउन सत्तारुढ गठबन्धनलाई हम्मेहम्मे पर्ने देखिन्छ । किनकी, एमाले जबराविरुद्ध महाभियोगको विपक्षमा देखिएको छ । एमाले बाहेक दल मिल्दा पनि दुई तिहाइ पुग्दैन ।

संसद्बाट एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्नेमा गठबन्धन एकमत थिएन । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी तत्काल अघि बढाउने पक्षमा थिए । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष संशोधन हुनुपर्ने अडानमा थिए । स्रोतका अनुसार दाहाल र नेपालको महाभियोगसम्बन्धी प्रस्तावमा देउवा सकारात्मक बनेका हुन् । एमालेले यस अगाडि पनि सभामुखले बोलाएको सर्वदलीय बैठक र माधव नेपाल नेतृत्वको नेकपा एसका नेता सहभागि हुने बैठक बहिस्कार गर्दै आएको छ ।

प्रतिनिधिसभा २७५ सदस्यीय हो । ४ जना निष्काशनमा परेका कारण २७१ सदस्य कायम छ । यसको दुईतिहाइ १८१ हुन्छ । एमाले बाहेक दल मिल्दा १७३ मत मात्रै पुग्छ । जसमा ४ जना निलम्बनमा छन् । यो पनि घटाउँदा १६९ कायम हुन्छ । १२ मत अपुग हुने देखिन्छ । कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ (सभामुख बाहेक), एकीकृत समाजवादीका २३ गरी १३२ पक्षमा देखिएका छन् । प्रतिनिधिसभामा एमालेका ९८ सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७