नेपाल टी–२० विश्वकप खेल्ने नेपालको सपना अधुरै


१० फाल्गुन २०७८, मंगलवार
Nepal Cricket

काठमाडौं : ओमानमा जारी टी– २० विश्वकप छनौट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपाल यूएईसँग पराजित भएको छ। युएईसँग पराजित भएपछि नेपालको ८ वर्षपछि विश्वकप खेल्ने सपना अधुरै भएको छ ।

नेपाल मंगलबार ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइनलमा यूएईविरूद्ध ६८ रनले पराजित भएको हो ।

युएई भने आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट भएको छ। मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा यूएईका कप्तान अहमद राजाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए ।

यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको छ । १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमा सिमित हुन पुग्यो । यूएईका कप्तान अहमद राजाले ५ विकेट लिँदै नेपालको सपना समाप्त पारे । उनले त्यसका लागि ४ ओभरमा १९ रनमात्र खर्चेका थिए ।

जुनैद सिद्धिकीले सुरुवातमै आसिफ शेख, लोकेश बम र कुशल भुर्तेललाई आउट गरे । दीपेन्द्रसिंह ऐरीले नेपालबाट सर्वाधिक ३९ रन बनाए । ३८ बल नै खेलेका उनले ३ चौका प्रहार गरे । ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।

कमजोर बलिङ

यसअघि यूएईले ओमानको मस्कटमा टस जितेर ब्याटिङ रोज्दै ७ विकेट गुमाई १ सय ७६ रन बनाएको थियो । सुरुवातदेखि नै आक्रामक देखिएका यूएईका ब्याटरहरूले सहजै रन जोडेका थिए।

विश्वकपमा पुग्न जित्नै पर्ने खेलमा नेपालबाट जितेन्द्र मुखिया र अविनाश बोहराले ३–३ विकेट लिए । जितेन्द्रले ३ ओभरमा ३५ र अविनाशले ४ ओभरमा ४६ रन खर्चे ।

समूह चरणमा अपराजित रहेको नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । समूहको पहिलो खेलमा आयोजक ओमानलाई ३९ रनले हराएको नेपालले दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गरेको थियो । समूहको अन्तिम खेलमा नेपालले क्यानडालाई आठ विकेटले हराउँदै समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७