न्याय परिषद् बैठक : ८ महिनापछि विशेष अदालतले पायो पदाधिकारी


११ फाल्गुन २०७८, बुधबार
sarbocha 768x402 1

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि कायममुकायम प्रधानन्यायाधीश बनेका दीपककुमार कार्कीको नेतृत्वमा न्याय परिषद्को बैठक बसेको छ ।

बुधबार बसेको परिषद्को बैठकले विशेष अदालतमा अध्यक्ष र सदस्यहरू पदस्थपानाका लागि नेपाल सरकार समक्ष ६ जना न्यायाधीशहरूको नाम सिफारिस गरेको छ । जसअनुसार उच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेललाई विशेष अदालतको अध्यक्ष र न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, सालिग्राम कोइराला, बलभद्र बास्तोला तथा डा. खुसीप्रसाद थारुलाई विशेष अदालतको सदस्यका रूपमा सिफारिस गरेको छ ।

भ्रष्टाचार मुद्दाको सुनुवाइ गर्ने विशेष अदालतमा एक अध्यक्ष र ५ सदस्य रहने व्यवस्था भए पनि हाल दुई जना सदस्य मात्र कार्यरत थिए । प्रधानन्यायाधीश जबराले गत साउन २९ मा विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्यहरू बालेन्द्र रूपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुलाई एकै दिन काज सरुवा गरेका थिए ।

सिफारिस भएका अध्यक्ष पौडेल हाल उच्च अदालत पोखराको बाग्लुङ इजलासका न्यायाधीश हुन् । लामो समय न्याय प्रशासनमा बिताएका उनी केही वर्षअघि न्यायाधीश भएका हुन् । साउनदेखि बिशेषमा अध्यक्ष नहुँदा मुद्दा फैसला प्रभावित बनेका थिए ।

कामु प्रधानन्यायाधीश कार्कीको अध्यक्षतामा सदस्यहरू कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्का, नेपाल बार र प्रधानमन्त्रीको सिफारिसमा नियुक्त रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारीको सहभागितामा बैठक बसेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७