निर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्छ : शेखर कोइराला


१९ फाल्गुन २०७८, बिहीबार
shekhar koirala

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । नेपाल बार निर्वाचनमा समेत कांग्रेस निकट कानुन व्यवसायीले अन्य पार्टीसँग तालमेल गर्न नहुने भन्दै उनले यस्तो संकेत गरेका हुन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कोइरालाले आसन्न बार निर्वाचनलाई लक्षित गरी यस्तो बताएका हुन् । बार निर्वाचनमा कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) र प्रगतिशील समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । कोइरालाले कांग्रेसले अन्य पार्टीसँग गठबन्धन वा तालमेल गर्दा मर्यादामा आँच आउने उल्लेख गरेका छन् ।

‘विधिको शासन स्थापना गर्न डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) को महत्वपूणर् भूमिका छ । यो लोकतान्त्रिक कानुन व्यवसायीहरूको पेसागत र बौद्धिक संगठन हो । नेपाल बार एशोसिएसनको निर्वाचनमा डिएलए एक्लै प्रतिस्पर्धामा उभिनु पर्छ,’ उनले भनेका छन, ‘अन्य पार्टी निकट संगठनसँग गठबन्धन वा तालमेल गरिनु हुँदैन, यदि यसो गरिए डिएलएको पेसागत मर्म र मर्यादामा आँच आउँछ ।’

१४ औं महाधिवेशनपछि कांग्रेसमा इतर समूहको नेतृत्व गर्दै आएका कोइराला कुनै पनि निर्वाचनमा तालमेल गर्न नहुने पक्षमा छन् । इतर समूहले सत्ता गठबन्धनको औचित्य राष्ट्रियसभा निर्वाचनसँगै सकिएको बताँउदै आएको छ । उनीहरुले केन्द्रीय कार्यसमिति बैठकमार्फत यसबारे निणर्य गर्न दबाब दिँदै आएका छन् । एमसिसी संसदबाट अनुमोदन भएपछिको अवस्थामा पनि कोइरालाले सांकेतिक रुपमा गठबन्धनको पक्षमा नरहेको अडान देखाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७