नयाँपेज समाचार प्रभाव : सशस्त्रको ४० करोडको टेण्डर रद्द


८ चैत्र २०७४, बिहीबार
sasatra

काठमाडौं, ८ चैत : सार्वजनिक खरिद प्रणाली निर्देशिका विपरीत सशस्त्र प्रहरी बलले खुलाएको ४० करोडको टेण्डर रद्द भएको छ । सशस्त्र प्रहरी बलले सार्वजनिक खरिद प्रणाली निर्देशिका मिचेर सेटिङ्गका ४० करोडको सामान खरिद गर्न लागेको समाचार नयाँपेज अनलाइनले प्रकाशन गरेपछि सम्बन्धित निकायले उक्त टेण्डर रद्द गरेको हो । सशस्त्र प्रहरी यसअघि सेटिङ्गमा उक्त सामान खरिद गर्ने तयारी गरेको थियो । सशस्त्र प्रहरी बलले विद्युतीय खरिद प्रणाली निर्देशिका विपरीत टेण्डर खोलेको बिषय सार्वजनिक खरिद अनुगमन कार्यालयमा पुगेको थियो ।sasatra

अनुगमन कार्यालयमा समेत ठेकेदारहरुले सेटिङ गरी मिलाइसकेको खुलासा भएपछि टेण्डर रद्द भएको हो । ठेकेदारहरु श्रवण अग्रवाल, मित्र लामा, इन्द्र ढोडारी, इन्द्र श्रेष्ठहरु खरिद अनुगमन कार्यालय मिलाएकाले अब सशस्त्रमा सामान खरिद सम्झौता हुने भयो भन्दै खुशी साटासाट गर्दै हिडिरहेका थिए । सशस्त्रले २०७४ फागुन १६ मा १६ किसिमका सामान खरिदका लागि टेण्डर परेका कम्पनीहरुका लागि ७ दिने आशयपत्र जारी गरेको थियो । ७ दिने आशयपत्रको सूचना जारी गरे पनि सशस्त्र प्रहरी बलले आपूर्तिकर्ता ठेकेदारहरुसँग सम्झौता नगर्दै खरिद प्रकरण सार्वजनिक खरिद अनुगमन कार्यालयमा पुगेको थियो ।

विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०७४ विपरीत गएर सशस्त्र प्रहरीले करीब ४० करोड रुपैयाँ बराबरका सामान खरिदको बोलपत्र गरी टेण्डर खोलेर आशयपत्र जारी गरिसकेपछि यो बिषय अनुगमन कार्यालयबाटै बैधानिकता दिने उपाय ठेकेदारहरुकै सल्लाहमा भएको थियो । विद्युतीय खरिद निर्देशिकाको ३५ नम्बर बुँदाले सार्वजनिक निकायले ६० लाख रुपैयाँ भन्दा बढी रकमको मालसमान अनिवार्य विद्युतीय खरिद प्रणालीको प्रयोगबाट मात्रै खरिद गर्नुपर्ने उल्लेख छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले अनिवार्य रुपमा विद्युतीय खरिद प्रणाली (इबिडिङ) को प्रावधानलाई पालना गर्न दिएको निर्देशन विपरीत कागजी बोलपत्र दर्ता गर्नेहरुलाई मात्र मान्यता दिएको थियो ।

इबिडिङ नगरी कार्यालयमा दर्ता गर्नेहरुको टेण्डरलाई मात्र मान्यता दिएको बिषय सार्वजनिक भएपछि ठेकेदार मित्र लामालगायतले सार्वजनिक खरिद अनुगमन कार्यालयमा लगेर टेण्डरलाई मान्य गराउन सल्लाह दिएका थिए । उनीहरुकै सल्लाहमा सशस्त्रको प्रबन्धका इन्स्पेक्टर प्रमोद थापा र आर्थिक महाशाखा प्रमुख अभि खत्रीले अनुगमन कार्यालयमा पठाएका थिए । मित्र लामा र झापाका इन्द्र ओडारीले माथि लिंक छ भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा इ–बिडिङ नगरेको टेण्डरलाई नै मान्यता दिन लागेका थिए । लामा र ओडारीले एमालेका सांसद तथा युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतमार्फत् पनि खरिद अनुगमन कार्यालयमा सेटिङ मिलाउन खोजेका थिए । ओडारीका अर्का पार्टनर इन्द्र श्रेष्ठ हुन् । मित्र लामाहरुको समूहले चुस्ताको ठेक्का पाएको छ । अग्रवालले हिमाली ज्याकेट, बुटहरुको ठेक्का पाएका छन् ।

हिमाली बुटलगायतका सामानमा ७५ प्रतिशत भन्दा बढी फाइदा हुन्छ । १६ किसिमका सामानमा चुस्ता सबैभन्दा ठूलो रकमको हो । ठेकेदारहरुको तर्फबाट टोपेन्द्र बीसी पनि लागेका छन् । बीसी टेलिकमका कर्मचारी भए पनि ठेक्कापट्टामा पनि सक्रिय छन् । लामा, ओडारी, बीसी र अग्रवालहरुले दामासाहीले पैसा उठाएर खरिद अनुगमन कार्यालयमा सेटिङ गरेकाले सशस्त्रमा सामान आपूर्तिको तयारी गरिसकेका छन् । कटन पाइन्ट र कटन सर्टको गुणस्तर रिपोर्ट नै कीर्ते पेश गरेको स्रोतले बताएको छ । १६ किसिमका सामानमा टेरिकटन पाइन्ट कपडा २८ हजार मिटर छ । टेरिकटन पाइन्टको कपडा प्लस प्वाइन्ट प्रालिले पाएको छ । प्लस प्वाइन्टले भारतको (एसजीएस) मा गुणस्तर चेक गरेको प्रमाणपत्र सशस्त्र प्रहरी बलमा पेश गरेको छ । जुन रिपोर्ट नै कीर्ते भएको स्रोतले बताएको छ ।

सशस्त्र प्रहरी बलका पूर्वआइजीपी दुर्जकुमार राई र ठेकेदार पिताम्बर मुन्का मिलेर २०७२ मा नेपाल गुणस्तर तथा नापतौल विभागको पत्र कीर्ते गरेर ४३ हजार मिटर सुती कपडा खरिद गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । यो छानबिन नसकिंदै क्राउन टेक्सटाइलले गुणस्तरको कीर्ते रिपोर्ट पेश गरेको कुरा सतहमा आएको छ । सशस्त्र प्रहरी बलले २०७४ फागुन १६ आशयपत्र जारी गरी खरिद गर्न लागेका १६ किसिमका सामानमध्येमा ४० हजार सेट चुस्ताको ठेक्का समृद्धि टे«ड इन्टरनेशनल, न्यू आइके इन्टरप्राइजेज, मित्रता बिजनेश प्रालि काठमाडौंले पाएको छ ।

त्यसैगरी ३५ हजार जोर बुट र ऊनी अन्डरवेयर र ऊनी गन्जीको ठेक्का जय सलिना इन्टरप्राइजेज काठमाडौंले पाएको छ । ३७ हजार थान झुल स्प्रिङ इन्टरनेशनल प्रालिले पाएको छ । ५ हजार ५ सय वटा स्लिपिङ व्याग र १० हजार थान रुकस्याक ब्यागको ठेक्का आयुषा ब्याग उद्योगले पाएको छ । ब्यारेट क्याप एशियन इन्टरनेशनल बिजनेश प्रालिले, १ हजार ६ सय जोर टपबुट क्रोनवाल बिजनेश ट्रेडर्स काठमाडौं र स्नो स्लीपीङ ब्याग, स्नो पार्कर ज्याकेट २ हजार थान, स्नो बुट २ हजार जोर र ऊलन सर्ट कपडा ३५ हजार मिटर क्यामोफ्ल्याग नेपाल टे«डिङ काठमाडौंले ठेक्का पाएको छ ।
ऊलन पाइन्ट कपडा २८ हजार मिटर, टेरिकटन सर्ट कपडा ३५ हजार मिटर र जर्सी ७ हजार थान क्राउन टेक्सटाइल प्रालिले ठेक्का पाएको छ । सशस्त्र प्रहरी बलले २०७४ माघ ५ गते राष्ट्रियस्तरको बोलपत्र आह्वानमा सिलबन्दी वा विद्युतीय माध्यममध्ये कुनै एकबाट बोलपत्र पेश गर्नु भन्दै सूचना प्रकाशित गरेको थियो । निर्दे्शिकाले विद्युतीय प्रणालीबाट मात्रै भनेको अवस्थामा सशस्त्रले ‘वा’ शब्द प्रयोग गरेर बोलपत्रमा चलखेल आरोप आइजीपी श्रेष्ठमाथि छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७