काठमाडौंले हेपेको सुदूरपश्चिमलाई समाजवादी क्रान्तिको आधार इलाका बनाऔं : प्रचण्ड

‘भिलेनसँग लड्दा-लड्दै विभाजित हुनुपर्‍यो’


३० फाल्गुन २०७८, सोमबार
prachanda.jpg 18 K4vtD64pv1

कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग पार्टी एकता गरेर गलत नगरिएको बताएका छन् । अध्यक्ष प्रचण्डले सोमबार धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र भएको आरोप लगाए । उनले भने, ‘पार्टी एकतापछि हामीमाथि षडयन्त्र हुन थाल्यो र माओवादी नेतालाई आरोपित गरियो ।’

अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै पार्टी एकता गरेपछि भिलेन फेला परेको बताए । अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन गरेर पार्टी एकता गर्‍यौ । पार्टी एकता गर्नु गलत थिएन’, प्रचण्डले भने, ‘तर, भिलेन फेला पर्‍यो । भिलेनसँग लड्दा लड्दै विभाजित हुनुपर्‍यो ।’ उनले भिलेनसँग लड्दा-लड्दै पार्टी विभाजन हुन पुगेको समेत बताए ।

यसैबीच अध्यक्ष प्रचण्डले सदियौंदेखि नै काठमाडौंले सुदूरपश्चिमलाई हेपेको बताएका छन् । ‘एक दिन- दुई दिन होइन, इतिहासदेखि नै सुदूरपश्चिमलाई राज्यले, काठमाडौंले जसरी विभेद र अपमानका साथ हेर्‍यो’, उनले भने, ‘अब त्यसलाई उल्ट्याउनु छ । हामीले एक हदसम्म संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमार्फत समानुपातिक समावेशी प्रतिनिधित्व स्थापित गरेर सुदूरपश्चिमलाई प्रदेशको मान्यता दियौं । तर अझै पनि त्यो पूणर् भएको छैन ।’

उनले देश समाजवादको यात्रामा अघि नबढेसम्म विभेद र अपमान अन्त्य नहुने पनि बताए । ‘समाजवादको यात्रामा अगाडि नबढेसम्म सयौं वर्षदेखि कायम विभेद र अपमानको अन्त्य हुँदैन । सुदूरपश्चिमले नेपालमा समुचित अधिकारसहितको सम्मान प्राप्त हुने प्रक्रिया पूरा हुने छैन ।’

सुदूरपश्चिम प्रदेशसामु अनेकन अवसर र चुनौती रहेका पनि उनले बताएका छन् । ‘त्यसैले नयाँ चुनौती र अवसर सुदूरपश्चिमसामु छन् । हामी समाजवादको आधार निर्माण गर्दै, त्यसको आधार इलाकाको रुपमा यो प्रदेशलाई विकसित गर्ने योजनामा छौं । काठमाडौंलाई सन्देश दिने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७