शेखरको प्रश्न : कांग्रेसलाई भोट आउँदैन भने किन गठबन्धन गर्ने ?


८ चैत्र २०७८, मंगलवार
shekhar1639469324
फाइल फोटो

मोरङ । सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने जिम्मा स्थानीय तह, क्षेत्र र जिल्ला कार्य समितिलाई दिनुपर्ने बताएका छन् ।

कांग्रेसका भ्रातृ संस्था नेपाल सांस्कृतिक संघले कोइराला निवासमा मंगलबार आयोजना गरेको चुनावी गीत सार्वजनिकीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । यस क्रममा उनले कम्युनिष्टले कांग्रेसलाई मतदान गर्नेमा विश्वस्त नभएको बताएका थिए । यसैले पनि गठबन्धनबारे सोच-बिचार गरेर निणर्य लिनुपर्ने उनको भनाइ थियो ।

‘जिल्लाका कांग्रेसका साथीहरुले स्थानीय तहको चुनावमा गठबन्धन गरेर जानु हुँदैन र यसले कांग्रेसलाई फाइदा नगर्ने भनिरहेका छन्,’ उनले भने, ‘कम्युनिष्टले कांग्रेसलाई भोट हाल्छ भन्नेमा कांग्रेसी विश्वस्त छैनौं । त्यसैले आवेशमा होइन, पार्टी नेतृत्वले सोच-बिचार गरेर निणर्य लिनुपर्छ ।’ पार्टीभित्रको तिक्तता छोडेर एकढिक्का भई कांग्रेस अघि बढे चुनावमा कुनै शक्तिले हराउन नसक्ने कोइरालाको भनाइ थियो ।

उनले गठबन्धनको फाइदा कांग्रेसलाई नभएर गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई फाइदा पुग्ने संकेत गरेका थिए । उनले भने, ‘गठबन्धन गर्दा केका लागि गठबन्धन गर्ने ? अरु पार्टीलाई जिताउनका लागि कि अरु पार्टीले कांग्रेसलाई पनि भोट दिनका लागि गठबन्धन हो ? कांग्रेस नेतृत्वले त्यसतर्फ सोच्नु पर्ने आवश्यकता छ । कांग्रेसलाई गठबन्धनबाट फाइदा हुन्छ कि हुँदैन, भोट आउँछ कि आउँदैन र यदि भोट आउँदैन भने त्यो गठबन्धनको जरुरत के छ ?’

अरु पार्टीका नेतालाई जिताउनका लागि कांग्रेसलाई गठबन्धन आवश्यक नभएको उनको तर्क थियो । ‘गठबन्धनले पार्टी, पार्टीका सिद्धान्त र बिचार कमजोर हुँदै जानेतर्फ नेताहरु सजग र सचेत हुनु आवश्यक छ,’ उनले थपे, ‘अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुरमा माओवादीको रेणु दाहाललाई जिताएपछि अहिलेसम्म कांग्रेस एक ढिक्का हुन सकेको छैन । त्यो पार्टी नेतृत्वले बुझ्नु पर्छ ।’

कांग्रेसको अरु पार्टीभन्दा अलग सिद्धान्त र बिचार भएकाले पनि गठबन्धन गर्नु उपयुक्त नभएको कोइरालाको तर्क थियो । यस्तै कांग्रेसले उग्रराष्ट्रवादको कुरा नगर्ने र कांग्रेसको राष्ट्रिय समाजवादको सिद्धान्त पनि कम्युनिस्टभन्दा फरक भएको बताएका थिए । सिद्धान्त नमिल्ने पार्टीसँग गठबन्धन जानुको औचित्य नरहेको उनको भनाइ थियो । तर पार्टीको केन्द्रले स्थानीय निर्वाचनमा कुनै किसिमको हस्तक्षेप गरेर गठबन्धन गर्न नहुने उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७