‘अझै चलेन सार्वजनिक यातायात’


२२ चैत्र २०७८, मंगलवार
IMG 0395 4 scaled

महेन्द्रनगर । सुगम जिल्ला भए पनि कञ्तनपुरको एक पालिकाका नागरिकले अझै सार्वजनिक यातायात सेवा लिन पाएका छैनन् भन्दा पत्यार नलाग्न सक्छ ! हो, कञ्चनपुरको लालझाडी गाउँपालिकावासीले दशकौंदेखि यस्तो समस्या भोग्दै आएका छन् ।

स्थानीय जनप्रतिनिधि आएपछि केही वडामा छिटपुटरूपमा सडक कालोपत्र भए पनि गाउँपालिकाका अधिकांश सडक कच्ची छन् । छवटा वडा रहेको गाउँपालिका कञ्चनपुरको भौगोलिकरूपमा निकै विकट मानिन्छ । ‘चालु आर्थिक वर्षमा विभिन्न वडामा गरी करिब साढे तीन किलोमिटर सडक कालोपत्र गर्ने योजनाका साथ अघि बढेका छौं’, लालझाडी गाउँपालिकाका सबइञ्जीनियर सन्तोषप्रसाद जोशीले भने, ‘अहिलेसम्म यहाँ चान्देउ-बल्मी क्षेत्र र अन्यमा सडक कालोपत्र छ ।’

उनले स्थानीय जनप्रतिनिधि आइसकेपछि पालिकाका सबै वडाका मुख्य तथा शाखा सडक ग्राभेल भएको जानकारी दिए । ‘पालिकाको पनि आफ्नो बजेट छ’, उनले भने, ‘भौतिक पूर्वाधारदेखि अन्य विकासमा सङ्घ र प्रदेश सरकारको बजेटले पनि काम भइरहेको छ ।’ बीच भागमा पर्ने दोदा नदीका कारण पालिका दुई भागमा विभाजित रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रसिंह रावलले जानकारी दिए ।

‘अहिलेसम्म राम्रोसित यहाँ सार्वजनिक यातायात सञ्चालन भएको छैन’, रावलले भने, ‘एकाध वडा बाहेक सबैतिर यातायात सेवा पुग्न सकेको छैन ।’ उनले पालिकामा दोदा नदी कटान र डुबानका साथै वन्यजन्तुबाट हरेक वर्ष जनधनको क्षति हुने गरेको बताए । लालझाडीको वडा नं २ र ३ को बीचमा पर्ने खर्रानालामा पक्की मोटेरेबल पुल बनेपछि मात्रै पालिकामा आवागमनमा सहजता मिलेको स्थानीयवासीको भनाइ छ ।

‘पहिले त वर्षातमा बिरामी हुँदा पनि एम्बुलेन्स गाउँमा ल्याएर बिरामी लैजान सक्ने अवस्था थिएन’, कञ्जका स्थानीयवासीले रामप्रसाद रानाले भने, ‘अहिले पनि देखतभूली भएर जान दोदा नदीमा बनाउनुपर्ने पक्की पुल नबन्दा समस्या नै छ’, राना थारू समुदायको बाहुल्यता रहेको लालझाडीमा बितेको चार वर्षमा विद्यालय भवन समेत बनेको पालिकाले जनाएको छ । ‘गाउँपालिकाको वार्षिक आयव्यय भनेको ४७ करोड हो’, प्रमुख प्रशासकीय अधिकृत रावलले भने, ‘गाउँमा बसपार्क बनाउने विषयमा पनि गृहकार्य हुँदैछ ।’

चौध हजार १६ मतदाता रहेको गाउँपालिकामा सडक सञ्जाल विस्तार एवं स्तरोन्नतिका लागि सङ्घीय सरकारले प्राथमिकतामा राख्नुपर्ने स्थानीयवासीको भनाइ छ । ‘यसै क्षेत्रबाट निर्वाचन जितेर मन्त्री भए तर गाउँको अवस्थामा खासै सुधार भएन ।’ कञ्जकै श्याम रानाले भने, ‘चुनावका बेला भोट माग्ने, आश्वासन दिने तर पछि वास्ता नगर्ने प्रवृत्तिले लालझाडीको विकास नभएको हो ।’

गाउँपालिकाका अध्यक्ष मदनसेन वडायक खर्रानालामा बनेको पुल आफ्नो कार्यकालमा बनेको बताए । ‘त्यो पुल बनेपछि जनतालाई हिँड्डुल गर्न सहज भयो’, उनले भने, ‘गाउँमै १० शैंयाको अस्पताल पनि बनायौं ।’ उनले चालु आवमा सडक कालोपत्रका लागि ५० करोडको ठेक्का भइसकेको बताए ।

‘अबको दुई वर्षमा धेरै सडक कालोपत्रे हुन्छन्’, अध्यक्ष वडायकले भने, ‘यहाँ करिब १७-१८ किलोमिटर सडक कालोपत्र भएको छ ।’ दोदा नदीमा दुईवटा झोलुङ्गे पुल बन्नुका साथै पाँच करोडको लागतमा लालझाडी उद्यान समेत निर्माण भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७