लेटाङमा प्रहरीको हत्या घटना : २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर


२२ चैत्र २०७८, मंगलवार
letang crime

मोरङ । मोरङको लेटाङमा भएको हिंसात्मक घटनाको दुई सातापछि प्रहरीले सोमबार २० जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको छ । घटनामा संलग्न भएको आशंकामा थप ४३ विरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लेटाङ नगरपालिका-५ खेरुवास्थित शिक्षा माध्यमिक विद्यालयका शिक्षक विजय पौडेलले कक्षा ६ मा अध्ययनरत एक बालिकालाई यौन दुर्व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीलाई उत्तेजित भीडले आक्रमण गर्दा चैत ६ मा महिला प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो । सोही घटनामा संलग्न भएको पुष्टि गर्दै २० जनाविरुद्ध मोरङ प्रहरीले अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो ।

ज्यान मुद्दा पर्नेमा लेटाङ-४ बस्ने ४८ वर्षीय चन्द्र तामाङ भन्ने चन्द्रकान्ता लामा, २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, झविन भन्ने जस्विन पाख्रिन, प्रह्लाद खड्का, वडा ५ का २३ वर्षीय प्रदीप राई, १८ वर्षीया निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय सञ्जय मगर, सञ्जीव प्रधान, प्रनिश कट्टेल, सुनील लिम्बू, २० वर्षीय कृष्ण विक, वडा ६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, पासाङ तामाङ, श्रवण यादव र वडा ९ बस्ने अर्पण परियारविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, संजोग राईसहित ४३ जनाविरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरेको छ । पक्राउ परेकामध्ये १० विद्यार्थी छन् । साताभित्रमा सम्पूणर् अनुसन्धान पूरा गरेर मुद्दा अदालतलाई जिम्मा दिने तयारी भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन् । शिक्षकले छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपपछि चैत ६ विद्यालयमा हिंसा भड्किएको थियो । घटनामा महिला प्रहरी श्रेष्ठको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालयले लेटाङमा चार दिन कर्फ्यु लगाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७