सुरुङ निर्माण सिक्दै नेपाली इन्जिनियर


२८ चैत्र २०७८, सोमबार

काठमाडौं । विगतमा सुरुङसम्बन्धी विषयको पाठ्यक्रममा पढे पनि व्यावहारिक रुपमा सिक्न नपाएका नेपाली इन्जिनियरले नेपालको पहिलो सुरुङमा व्याहारिक ज्ञान लिन थालेका छन् ।

नागढुङ्गास्थित सुरुङमार्गमा सडक विभागमा कार्यरत सबै इन्जिनियरलाई सुरुङसम्बन्धी व्यावहारिक ज्ञान सिकाइने भएको छ । सबै इन्जिनियर र डिभिजन प्रमुखलाई आधारभूत विषयमा सिकाइने र तीमध्ये केहीलाई थप कक्षा दिइने भएको छ । सुरुङ निर्माणका क्रममा हालसम्म चार ब्याच पूरा भइसकेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर सौरभ बज्राचार्यले बताए ।

कार्यक्रमअनुसार नै विभागका इन्जिनियरलाई सिकाइएको हो । उनले भने, ‘यो सुरुङ पूरा हुँदा नेपाली इन्जिनियरलाई थोरै भए पनि व्यावहारिक ज्ञान हुनेछ ।’ अहिले केन्द्रबाट महिनामा एक पटक एउटा समूहलाई तालिम दिइएको सिनियर डिभिजनल इन्जिनियर बज्राचार्यले बताउनुभयो । पहिले दुई दिन सैद्धान्तिक कक्षा गरेपछि अर्को एक दिन आयोजनामा कसरी काम भइरहेको छ भन्ने व्यावहारिक रुपमा सिकाइने गरिएको छ ।

अहिलेसम्म ६० इन्जिनियरले तालिम लिइसकेका छन् । अहिले सरकारको बजेटबाट सडक विभागका इन्जिनियरलाई मात्रै तालिम दिइएको छ । दातृ निकायबाट आर्थिक स्रोत जुटाएर अरू इन्जिनियरलाई पनि तालिम दिन पहल भइरहेको केन्द्रले जनाएको छ । विभागका कर्मचारीबाहेक अरू इन्जिनियरले पनि सिकाउनु आवश्यक रहेको उनले बताए । उनले भने, ‘विभाग र परामर्शदाता र निर्माण कम्पनीको इन्जिनियरले पनि सिक्नुपर्छ ।’

अहिले सबै इन्जिनियरलाई तीनदिने कक्षा र तीमध्ये ३० जनालाई अझै गहिराइमा कक्षा दिने गरी योजना बनाइएको केन्द्रले जनाएको छ । तीन दिने कक्षा विभागका सबै इञ्जिनियर र डिभिजन प्रमुखलाई दिइएपछि आधारभूत ज्ञान सबैसँग हुने उनले बताए । थप ज्ञान पाउने इन्जिनियरले आगामी दिनमा सुरुङमा डिजाइनमा समेत सहभागी हुनसक्छन् । उनले भने, ‘यी इन्जिनियरमा सामान्य ज्ञानबाहेक थप ज्ञान पनि हुन्छ ।’

अहिले नागढुङ्गा सुरुङ निर्माण अघि बढिरहेको छ भने सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबामा सुरुङ निर्माणमा जान आवश्यक तयारीका क्रममा छ । अझै पनि केही नेपालीले नै जिम्मेवारी लिनसक्ने नहुने केन्द्रका सिनियर डिभिजनल इन्जिनियर बज्राचार्यले बताए ।

अब कुनै पनि आयोजना निर्माणमा जाँदा पनि नेपाली इन्जिनियरले नै जिम्मेवारी लिनसक्ने नहुनसक्ने उनले बताए । कुनै सानो योजनामा नेपालीले गर्न सक्ने सम्भावना भए पनि अहिले सञ्चालनमा जान लागेका आयोजना ठूला मात्रै रहेको उनले बताए । उनले भने, ‘एक हजार मिटरदेखि एक हजार पाँच सय मिटरसम्म भएमा केही सक्ने हुन्थ्यो तर लामा सुरुङ छन् ।’

सुरुङमा अनिश्चितता (अनसटेनिटी) हुनसक्ने हुँदा उच्च तहको अनुभव (हाई लेभल अफ एक्पेरिएन्स) चाहिने उनले बताए । निर्माणमा जान लागेको सिद्धबाबा सुरुङमा पनि नेपालीले थप कुरा सिक्नसक्ने उनले बताए । नेपालका लागि नयाँ प्रविधि भएकाले पनि यसमा नेपालीले मात्रै गर्न नसक्ने छ । जलविद्युत भन्दा सडक सुरुङ फरक र जटिल हुने उनले बताए ।

अबको एक-दुई वर्षमा नै नेपाली आफैँले आत्मनिर्भर भएर सुरुङको जिम्मा लिनसक्ने नभए पनि अन्तर्राष्ट्रिय परामर्शदातासँग हिँड्नसक्ने हुनसक्ने केन्द्रले जनाएको छ । अबका केही वर्षमा कुनै आयोजनामा ३० इन्जिनियर चाहिँदा १५ नेपाली हुनसक्ने गरी तयारी अघि बढाइएको छ । आयोजना पूरै नेपालीले गर्न कम्तीमा पाँच वर्ष लाग्नसक्ने सिनियर डिभिजनल इन्जिनियर बज्राचार्यले बताए । संस्थागत पहल राम्रो हुँदा कम समयमा पनि सिक्नसक्ने उनले बताए । उनले भने, ‘अहिले नेतृत्वमा पनि नेपाली इन्जिनियरले पनि सुरुङ निर्माण सिक्नुपर्छ भन्ने मानसिकता छ ।’

निर्माणमा जाने क्रममा रहेको सिद्धबाबा सुरुङमा स्विसले प्राविधिक अनुदान सहयोग छ । यसमा पनि नेपालीलाई सिकाउने लक्ष्य लिइएको छ । यसमा स्विस परामर्शदाताले नेपालीलाई अब यसरी गर्ने भनी सिकाउँछन् । सुरुङ निर्माण आजको भोलि नसकिने भए पनि केही वर्षमा यस क्षेत्रमा उपलब्धि हासिल हुने सिनियर डिभिजन इन्जिनियर बज्राचार्यले बताए । उनले भने, ‘सिद्धबाबा सम्पन्न हुँदासम्म दुईचारजना इन्जिनियर सुरुङमा राम्रो सिकिसक्ने देखिएको छ ।’

निर्माणका हिसाबले नेपालको पहिलो सुरुङमार्ग नागढुङ्गा हो भने दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्ग हुनेछ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ । बर्सेनि पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउनका लागि सुरुङ निर्माण गर्न लागिएको हो ।

देशकै पहिलो सुरुङका रुपमा रहेको नागढङ्गा सुरुङको उद्देश्य सडकको लम्बाइ घटाउनु र सवारी चाप कम गर्नु हो । सिद्धबाबा सुरुङको पहिलो उद्देश्य सिद्धबाबा क्षेत्रमा बर्सेनि हुने पहिराको जोखिम कम गर्नु नै रहेको छ । हरेक वर्ष सो स्थानमा आउने पहिराले यहाँबाट यात्रा गर्नेको मृत्यु हुने गरेकामा त्यसलाई कम गराउनु नै सुरुङको मुख्य लक्ष्य हो । यी दुवै सुरुङमार्ग पूर्वाधार निर्माणका हिसाबले र नेपालीका लागि सिक्ने अवसरका हिसाबले पनि महत्वपूर्ण रहेका छन् । सञ्चिता घिमिरे / रासस

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७