एमालेविरुद्ध सत्ता गठबन्धनको मोर्चाबन्दी : यस्तो बन्दैैछ तालमेलको ‘मोडालिटी’


२९ चैत्र २०७८, मंगलवार
satta gathabandan scaled

काठमाडौं – स्थानीय निर्वाचनका लागि भागबण्डाको ‘मोडालिटी’ टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) अपराह्न ४ बजे बस्ने गठबन्धनको बैठकले तालमेलको मोडालिटीबारे निर्णय हुने भएको छ ।

पाँच दलीय सत्ता गठबन्धनले ७५३ वटै स्थानीय तहको सिट बाडफाँटको मोडालिटी बनाउने भएको हो । बालुवाटारमा बस्ने गठबन्धनका शीर्ष नेता, गठबन्धनकै उच्च राजनीतिक समन्वय समिति र स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको संयुक्त बैठक बसेर तालमेलको मोडालिटी बनाउन लागिएको हो ।

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार बैठकले सहमति भएका स्थानको बाडफाँट र उम्मेदवारको योग्यता तय गर्नेछ । सहमति हुन नसकेको हकमा पालिकाले जिल्ला, जिल्लाले प्रदेश र प्रदेशले पनि सहमति कायम गराउन नसकेको स्थानमा केन्द्रले निर्णय गर्ने तयारी छ । ‘सिट प्लानको निणर्य आज गर्छौं’, गुरुङले भने, ‘कतिपय विवाद भएका, संयन्त्रले टुंगो लगाउन नसकेका विषय पालिका, जिल्ला र प्रदेशले गर्न कोशिस गर्ने त्यहाँबाट नसकेका विषय केन्द्रले निर्णय गरेर पठाइने छ ।’

सोमबारको बैठकमा भागबण्डामा सहमति जुट्न नसकेपछि पाँच दलका शीर्ष नेताले संयुक्त अपील जारी गर्दै गठबन्धनका उमेदवारहरुलाई विजयी बनाउन अपील गरेका थिए । प्रमुख प्रतिपक्ष दल एमालेविरुद्ध मोर्चाबन्दी गरेको गठबन्धनले विगतका आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल, जसपाका वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् । उनीहरुले देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर अगाडि बढ्न कार्यकर्तालाई अनुरोध गरेका छन्। विज्ञप्तिमा ठोस खाका भने सार्वजनिक भएको छैन ।

गठबन्धनले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय समिति गठन गरेको छ । पौडेलको नेतृत्वमा गठन गरिएको समितिले निर्वाचनमा तालमेलको मोडालिटीबारे प्रतिवेदन बुझाएको छ । गठबन्धनको शीर्ष नेताको बैठकमा तालमेलको मोडालिटीबारे अन्तिम टुंगो लगाइने बताइएको छ ।

सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएपछि कांग्रेसले तत्काललाई उम्मेदवार सिफारिस नगर्न कार्यकर्तालाई निर्देशन दिएको थियो । उक्त निर्णयप्रति शेखर कोइराला समूहका नेताहरुले असन्तुष्ट जनाएका छन् । कतिपय स्थानीय तहमा भने गठबन्धनभित्रका दलले उम्मेदवार घोषणा गरेका छन् ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय निर्वाचनको अघिल्लो दिन वैशाख २९ मा १८ वर्ष उमेर पुग्नेले यसपटक मत खसाल्न पाउने भएका छन् । यो व्यवस्था पहिलो पटक गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छपाइ सकिएको छ । ३८ प्रकारका निर्वाचन सामग्रीमध्ये २८ प्रकारका प्राप्त भइसकेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७