रामेछापमा गठबन्धनको चुनावी तालमेल : निर्वाचनमा प्रतिकूल गतिविधि नगर्न निर्देशन


२९ चैत्र २०७८, मंगलवार
5 Party chunab

रामेछाप । सत्ता गठबन्धन दलहरुले रामेछापमा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् । आज (मंगलबार) बसेको चार दलको बैठकले निर्वाचनको तालमेल गर्ने रणनीतिबमोजिम प्रतिकूल असर पर्ने अभिव्यक्ति एवम् गतिविधि नगर्न नेता-कार्यकर्तालाई निर्देशन दिएको छ । बैठकले स्थानीय तहको निर्वाचनमा पाँच दलको गठबन्धन र तालमेल गर्ने निर्णय गरेको हो ।

सत्ता साझेदार दलका केन्द्रीय नेतृत्वबाट जारी गरिएको अपीलको मर्म र भावनालाई आन्मसात गर्दै रामेछापमा पाँच दलीय सयन्त्रको बैठक बसेको माओवादी केन्द्र रामेछापका सचिव एवम् पूर्व सांसद तारानारायण श्रेष्ठले जानकारी दिए । बैठकपछि जारी विज्ञप्तिमा जिल्लाबाट नेपाली कांग्रेसका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम), नेकपा माओवादी केन्द्रका संयोजक मैनकुमार मोक्तान, एकीकृत समाजवादीका अध्यक्ष रमेशकुमार बस्नेत र जसपाका संघीय परिषद् सदस्य राजबहादुर मोक्तानको हस्ताक्षर गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल एमालेविरुद्ध मोर्चाबन्दी गरेको गठबन्धनले विगतका आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्न आग्रह गरेको छ । जिल्लामा गठबन्धनको पुन: बैठक बसेर तालमेलको मोडालिटीबारे अन्तिम टुंगो लगाइने श्रेष्ठले बताए ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय निर्वाचनको अघिल्लो दिन वैशाख २९ मा १८ वर्ष उमेर पुग्नेले यसपटक मत खसाल्न पाउने भएका छन् । जिल्लामा दुई नगरपालिका र ६ गाउँपालिका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७