आलोचनापछि चुनावी पोस्टरबाट माओवादीले हटायो कुलमानको तस्बिर


३० चैत्र २०७८, बुधबार
maoist iSXkUzlti9

काठमाडौं । चुनाव प्रचारका लागि तयार पारेको पोस्टरबाट नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर हटाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार बिहान आफूसँगै अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर भएको चुनावी पोस्टर सार्वजनिक गरेको थियो ।

घिसिङले आफ्नो सहमति बिनै माओवादीले तस्बिर राखेको कुराकानीमा बताएका थिए । सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि माओवादीले कुलमानको तस्बिर हटाएको हो । दाहालको सामाजिक सञ्जाल फेसबुकमा राखिएको नयाँ पोस्टरमा अर्थमन्त्री शर्मा र घिसिङको तस्बिर हटाइएको छ ।

माओवादी अध्यक्ष दाहाल दोस्रो पटक प्रधानमन्त्री भएका बेला घिसिङलाई पहिलो पटक प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो । घिसिङले पनि तत्कालीन प्रधानमन्त्री र ऊर्जामन्त्री जनार्दन शर्माको साथ र सहयोगले नै लोडसेडिङ अन्त्य गर्न सफल भएको बताउँदै आएका छन् ।

दोस्रो पटक २०७८ साउनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादीकै आग्रहमा घिसिङलाई पुनः कार्यकारी निर्देशमा नियुक्त गरेको हो । घिसिङ २०७३ मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुँदा देशमा दैनिक १२ घण्टासम्म लोडसेडिङ थियो । उनले लोडसेडिङ अन्त्य गराएका थिए । सोही कुराको जस लिन माओवादीले उनको तस्बिर चुनावी पोस्टरमा राखेको थियो ।

‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको उक्त पोस्टरमार्फत माओवादीले लोडसेडिङ अन्त्यलाई आफ्नो ठूलो सफलताका रूपमा चित्रण गरेको थियो । साथै अब निःशुल्क बिजुलीको अभियानलाई अगाडि बढाउनेसमेत माओवादीले जनाएको छ ।

निर्वाचन आचारसंहिता २०७८ मा भने सरकारी कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन रोक लगाइएको छ । कार्यकारी निर्देशक घिसिङले भने आफ्नो सहमतिबिना तस्बिर राखिएको प्रतिक्रिया दिएका थिए । ’मेरो तस्बिर नराख्नु भनेको थिएँ । मेरो सहमतिविपरीत उहाँहरूले तस्बिर राख्नु भएछ । त्यसमा मेरो विमति छ,’ घिसिङले संक्षिप्त प्रतिक्रिया दिँदै भनेका थिए । घिसिङको प्रतिक्रिया आएसँगै माओवादीले पोस्टरबाट उनको तस्बिर हटाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७