निर्वाचनमा खटिने सुरक्षाकर्मीको ज्यान गए तत्काल २० लाख राहत


२५ बैशाख २०७९, आईतवार
myadi

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनमा खटिएका सुरक्षाकर्मीको ज्यान गएमा २० लाख रुपैयाँ राहत दिने भएको छ ।
आइतबारको मन्त्रिपरिषद्को बैठकले निर्वाचनका क्रममा सुरक्षाकर्मीको ज्यान गए तत्काल २० लाख रुपैयाँ दिने निणर्य गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले आइतबारको बैठकमा गरेको प्रस्ताव पारित भएको गृह मन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए । यस्तो सुविधा म्यादी प्रहरीसहित सबै सुरक्षाकर्मीले प्राप्त गर्नेछन् । निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी खटिने छन् ।

हरेक मतदान केन्द्रमा ३ जना मात्रै प्रहरी हुनेछन् । ५ देखि ८ जनासम्म म्यादी प्रहरी हुनेछन् । मोबाइल गस्ती सशस्त्र प्रहरीले गर्नेछ । सुरक्षा चुनौती बढी भएका ठाउँमा मोबाइल गस्ती र स्ट्राइकिङ टोली रहने एकीकृत सुरक्षा योजना छ । सुरक्षा संवेदनशीलता अनुसार परिचालन हुने जनशक्तिको संख्या पनि फरक-फरक छ । सबै बुथमा तीन जनाका दरले नेपाल प्रहरी खटाइने भएको छ । तर, एउटै मतदान केन्द्रमा एकभन्दा बढी बुथ भएमा सुरक्षा अवस्था सामान्य रहेका बुथमा एक जनाका दरले प्रहरीको संख्या पनि बढ्दै जानेछ ।

सुरक्षा अवस्था सामान्य रहेका बुथमा ५ जनाका दरले म्यादी प्रहरी खटाइने छ । तर एउटै मतदान केन्द्रमा बढी बुथ भए हरेक बुथमा दुई जनाका दरले म्यादी थप हुनेछन् । संवेदनशील बुथमा पनि नेपाल प्रहरी ३ जनाकै दरले रहनेछन्। बुथअनुसार एक जना थप हुनेछन् भने म्यादीको संख्या बढी हुनेछ ।

हरेक संवेदनशील मतदान केन्द्रमा ६ जनाका दरले म्यादी परिचालन गर्ने सुरक्षा योजना छ । बुथ थपिएमा २ जनाका दरले म्यादी पनि थप हुनेछन् । अति संवेदनशील मानिएका मतदान केन्द्रमा पनि नेपाल प्रहरीको संख्या भने ३ जना मात्रै हुनेछ ।
अरु मतदान केन्द्रमा जस्तै बुथ धेरै भए १ जनाका दरले प्रहरी थप हुनेछन् । तर म्यादीको संख्या भने अति संवेदनशील मतदान केन्द्रमा ८ जनाका दरले राखिने छ । बुथ थप भए २ जनाका दरले म्यादी प्रहरी पनि थप हुनेछन् । गृह मन्त्रालयका अनुसार सेनाको आवश्यकता अनुसार परिचालन गरिने छ। चुनावमा सबैभन्दा बढी म्यादी प्रहरी तैनाथ हुँदैछन् ।

चुनावका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिएको छ । यस्तै नेपाल प्रहरी ६१ हजार ८३१ जना खटिएका छन् । म्यादी प्रहरीलाई पनि नेपाल प्रहरी मातहत नै खटाइने छ । सशस्त्र प्रहरी २३ हजार ५ सय ३२ जना खटिएका छन् । हरेक जिल्लामा नेपाल प्रहरीका रिजर्भ फोर्स राखिएको छ । जिल्ला प्रहरी कार्यालयमा १५ जनाका दरले दुई वटा रिजर्भ फोर्स नेपाल प्रहरीका रहेका छन् । ती रिजर्भ फोर्सलाई जहाँ समस्या पर्छ तत्काल त्यहीं खटाइँदै छ । रिजर्भ फोर्सलाई तत्काल उपलब्ध हुन सक्ने गरी तयारी अवस्थामा राखिएको छ ।

चुनावी सुरक्षाका लागि सशस्त्र प्रहरीका दुई खालका टोली रहने छन् । मोबाइल गस्ती र स्ट्राइकिङमा सशस्त्र प्रहरी खटाइँदैछ । नगरपालिकामा मात्रै सशस्त्र प्रहरीको स्ट्राइकिङ टोली रहन्छ । सुरक्षा अवस्था अनुसार त्यो टोली परिचालन गरिनेछ । मोबाइल गस्तीको जिम्मा सशस्त्र प्रहरीलाई दिइने भएको छ । महानगरपालिकामा ४ वटाका दरले सशस्त्र प्रहरीका टोली खट्ने छन् । यी मोबाइल टोलीले नै महानगरभरि बाहिरी सुरक्षा गस्ती गर्नेछन् । उपमहानगरपालिकामा ३ वटाका दरले मोबाइल टोली खटाइँदै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७