बैसाख ३० गते गठबन्धनलाई सबै भन्दा ठूलो खड्गो : ओली

‘कांग्रेस एमालेको नीति, कार्यक्रमलाई गफ ठान्छ’


२५ बैशाख २०७९, आईतवार
oli

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई वैशाख ३० गतेको स्थानीय तह निर्वाचन सबैभन्दा ठूलो खड्गो रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा ओलीले यस्तो बताएका हुन् । ओलीले ज्योतिषीहरूलाई उद्धृत गर्दै गठबन्धनको ढाड नै भाँचिने बताए ।

‘ज्योतिषीहरूले गठबन्धनलाई सबैभन्दा ठूलो खड्गो वैशाख ३० हो भनेका छन् । कस्तो दिन जुराएर निर्वाचन मिति तोके छन्’, उनले भने, ‘वैशाख ३० मा उहाँहरू (गठबन्धन) लाई ढाँड नै भाँचिने गरी क्षति हुन्छ । यो ज्योतिषीहरूले भनेका हुन्, तर म ज्योतिषी होइन ।’

उनले आफूले तथ्यमा आधारित भएर गठबन्धनको आलोचना गर्दै आइरहेको पनि बताएका छन् । आफूले कसैप्रति विषवमन नगरेको पनि उनले बताए । ‘विषवमन गर्ने कामको एब्सुलुट नेतृत्वकर्ता गठबन्धन हो’, उनले भने, ‘उनीहरुका कुरा सुन्नुन, के-के भन्दै हिंडेका छन् । बोल्ने, नबोल्ने बोलिरहेका छन् ।’

अध्यक्ष ओलीले सत्तारूढ नेपाली कांग्रेसले आफ्नो पार्टीको नीति, कार्यक्रम र योजनाहरूलाई गफ ठान्ने गरेको बताएका छन् । उनले भने, ‘अचम्म त के लाग्छ भने, एमालेले ल्याएको नीति, कार्यक्रम र योजनाहरूलाई कांंग्रेस मजाक र गफ ठान्छ’, ओलीले भने, ‘देशको समृद्धि र जनताको सुखलाई कांग्रेस कोरा सपना ठान्छ ।’

उनले देशलाई गरिबी, लघुताभाष र अनिश्चयको दुष्चक्रमा राखेर कांग्रेसले जनतामाथि शासन गर्न चाहेको आरोप लगाए । कांग्रेस परिवारवादमा लागेको आरोप समेत उनले लगाए । उनले आफू नेतृत्वको सरकारले गरेको कामको फेहरिस्त पनि सुनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७